News

पाल्पामा थप पाँचजनामा कोरोना संक्रमण

तानसेन : पाल्पामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै पाल्पामा कोरोना संक्रमणको संख्या ५६ पुगेको छ । बिहीबार मात्र पाल्पामा ५ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये रिब्दीकोट गाउँपालिकाका ४ जना र तिनाउ गाउँपालिकाका १ जना रहेका छन् ।

प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ५ जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । संक्रमित हुनेमा २३ वर्षदेखि ५५ वर्ष उमेर समूहका पुरुष रहेका छन्। रिब्दीकोट गाउँपालिकाका ४ जना संक्रमित जेठ १५ गते भारतबाट आएका थिए।

संक्रमितमध्ये वडा नं १ ख्याहाको सारदा मावि शान्तिचौरको क्वारेन्टाइनमा, बसेका १ जना, वडा नं ६ ठिमुरेको नवज्योती प्रावि इजरडाडाँको क्वारेन्टाइनमा बसेका २ जना र वडा न.७ को पालुङ्गमा रहेको कालिका निमावि बतासेको क्वारेन्टाइनमा बसेका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितको अवस्था सामान्य रहेको गाउँपालिकाका अध्यक्ष नारायण जिसीले बताए । संक्रमित चारैजनालाई तानसेनको लुम्विनी मेडिकल कलेज प्रवासको आइसोलेसन सेन्टरमा पठाउने तयारी भएको छ ।

तिनाउ गाउँपालिका वडा ६ का संक्रमित पुरुष १५ दिनअघि भारतबाट आएर वडा न. ५ चौविसमाइलको कल्याणी आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । उनलाई तानसेन नर्सिङ्ग स्कुलमा संयुक्तरुपमा निर्माण गरेको आइसोलेसन सेन्टरमा पठाइएको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले बताए ।

संक्रमित पुरुषको अवस्था सामान्य रहेको छ । बुधबार मात्र तानसेनमा लुम्बिनी मेडिकल कलेजमा उपचाररत अर्घाखाँचीका एकजनामा कोरोना पोजिटिभ देखिएको थियो । यसअघि रम्भा गाउँपालिकामा १६ जना, बगनासकाली गाउँपालिकामा १ जना,माथागढी गाउँपालिकामा १४ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा ३ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोला गाउँपालिका २ जना व्यक्ति कोरोनाबाट सक्रमित भएका छन् । एक जना सक्रमितको उपचारको क्रममा मत्यु भएको थियो ।

आइसोलेसनमा बसेका संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पाल्पाका १० वटा पालिका मध्ये ९ वटा पालिकामा कोरोना संक्रमण देखिएको छ । तानसेन नगरपालिकामा भने अझै संक्रमण देखिएको छैन।

Related Articles

Back to top button
Close