भक्तपुरका आठैजना संक्रमित कुवेतबाट फर्किएका महिला
_20200611093053.jpg)
भक्तपुर : भक्तपुर भनिएका आठैजना कोरोना भाइरस संक्रमित हालै कुवेतबाट फर्किएका महिला भएको पुष्टि भएको छ।
कुवेतबाट फर्किएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका ७ खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयको शनिबार भएको नियमित पत्रकार सम्मेलनमा भक्तपुर तोकिएर सातजनामा कोरोना संक्रमण भएको बताएको थियो तर खरिपाटी क्वारेन्टाइनमा रहेका कुवेतबाट फर्किएका आठजानमा संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।
उनका अनुसार कास्की घर भएकी २३ वर्षीया, बारा र सुर्खेत निवासी २८ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। त्यस्तै नवलपरासी घर भएका २९ र ३३ वर्षीया, मोरङ निवासी ४१ र ४२ वर्षीया तथा झापा निवासी ३७ वर्षीया महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रहरी उपरीक्षक प्रधानले बताए।
यससँगै खरिपाटी क्वारेन्टाइनमा रहेका नौ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यसअघि खरिपाटी क्वारेन्टाइनमा रहेकै नवलपुरको गैंडाकोट निवासी २२ वर्षीया महिलामा कोरोना संक्रमण भएको बिहीबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो।
कुवेतबाट नेपाल आएकामध्ये प्रदेश १ र २ का एकसय नौ जनालाई भक्तपुरस्थित होल्डिङ सेन्टर पठाएको थियो। होल्डिङ सेन्टरमा स्वास्थ्य जाँच गर्दा अधिकांशको शरीरको तापक्रम बढी देखिएप्छि उनीहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो।
ललितपुर पठाइएका ४५ जना कुवेतबाट फर्किएकामध्ये पनि अहिलेसम्म १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ। कोरोना संक्रमण पुष्टि भएका महिलालाई उपचारका लागि राजधानीका विभिन्न अस्पतालमा पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
संक्रमित प्रहरीको परिवारमा देखिएन कोरोना
यसैबीच बिहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएका भक्तपुरको चाँगुनारायण नगरपालिका ५ छालिङका प्रहरी कर्मचारीका परिवारमा भने कोरोना देखिएको छैन।
महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार शाखामा कार्यरत उनको परिवारका आठजनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए।त्यस्तै संक्रमित प्रहरीको कन्ट्याक्ट्र ट्रेसिङको आधारमा परीक्षण गरिएका ३० प्रहरी कर्मचारीमध्ये २१ जनाको रिपोर्ट पनि नेगेटिभ आएको उनले बताए।
‘संक्रमित प्रहरीको घरपरिवारका आठ जना र परिसरका २१ जना प्रहरी कर्मचारीको रिपोर्ट नेगेटिभ आएको छ’, प्रहरी उपरीक्षक प्रधानले भने, ‘परिसरका नौ जना प्रहरी कर्मचारी र भक्तपुर नपा ५ भोलाछेंका संक्रमितको परिवार र छिमेकी गरी ११ जनाको रिपोर्ट भने प्राप्त भएको छैन।’
बिहीबार भक्तपुरका स्थानीय दुई र जिल्ला बाहिरका दुई गरी चारजनामा कोरोना भाइरस संक्रमण भएको मन्त्रालयले पुष्टि गरेको थियो। जसमा एकजना ललितपुरको टीकाथली बस्ने चितवनका पुरुष थिए।