कोरोनाको औषधिको परीक्षण सुरु, संक्रमित बिरामीहरुलाई १५ लाख डोज निःशुल्क दिइँदै
काठमाडौं। इबोला भाइरसको नियन्त्रणमा प्रयोग गरिएको औषधिलाई अब कोरोनाभाइरसबाट संक्रमित बिरामीहरुमा परीक्षण गर्न सुरु गरिएको छ । यो औषधिको नाम ‘रेमडेसीभिर’हो जसलाई अमेरिकाको क्यालिफोर्नियास्थित कम्पनी गिलिड साइन्सेजले तयार गरेको थियो ।
कम्पनीले परीक्षणको क्रममा संक्रमित बिरामीहरुलाई १५ लाख डोज निःशुल्क दिने जनाएको छ। कम्पनीको परीक्षणमा ठूलो संख्यामा संक्रमितहरुलाई सहभागी गराइने अपेक्षा गरिएको छ।
डेलिमेलको समाचार अनुसार मूल रुपमा यो औषधिलाई इबोला भाइरससँग लड्नको लागि बनाइएको थियो । यद्यपि यो औषधिले कोरोनाभाइरस जुन प्रोटिनबाट फैलिन्छ त्यो प्रोटिनलाई पनि रोक्ने क्षमता राख्छ ।
कम्पनीले १५ लाख डोज निःशुल्क दिने भनेको छ जसले १ लाख ४० हजार ‘ट्रिटमेन्ट कोर्स’ पूरा हुन्छ अर्थात परीक्षण सफल भएको खण्डमा यति डोजले १ लाख ४० हजार बिरामीको पूर्ण उपचार हुन्छ र उनीहरु पूर्ण स्वस्थ हुनेछन् ।