News

हाम्रो भूमि छिमेकीले उपयोग गरेको पाइएमा त्यो पनि फिर्ता लिन कूटनीतिक कौशल देखाउनुपर्छ। झगडाको शैलीमा होइन, सौहार्दपूर्ण वार्ताबाट सम्पूर्ण सीमा विवाद थोकमा सुल्झाउनुपर्छ।

छिमेकीसँग पटक–पटक बल्झिारहने सीमा विवादले मुलुकलाई पिरोल्दै आएको छ। यही कारण कतिपय ठाउँमा लालपुर्जा भएर पनि नेपाली नागरिकले आफ्नो भूमि प्रयोग गर्न पाएका छैनन्। आफ्नै भूमिमा पनि छिमेकीको हप्की तथा बलमिच्याइँ सहनुपरेको छ। यो समस्या भारत र चीन दुवैसँग छ। नेपालको भारतसँग १ हजार ९ सय किलोमिटरभन्दा बढी सीमा जोडिएको छ। अधिकांश ठाउँमा सीमा खुला छ। चीनसँग झन्डै एक हजार ५ सय किलोमिटर सीमा जोडिएको छ। चीनसँगको सीमाको अधिकांश भाग हिमाल र पहाडले छेकेको छ। सीमा खुला भएकै कारण दुई मुलुकको भू–भाग छुट्याउन भारततर्फ ८ हजार ५ सय ५३ स्तम्भ गाडिएका छन्। चीनतर्फ भने ७९ मात्र स्तम्भ छन्। भारतसँगको सीमामा गाडिएका ५ सयभन्दा बढी स्तम्भ हराइसकेका छन्। धेरै स्तम्भ भएका कारण यो संख्या अझै बढ्न सक्छ। भएका कतिपय स्तम्भ पनि भाँचिएका, भुइँमा लडेका वा पहिचान गर्न कठिन हुने अवस्थामा छन्।
भारतसँग सन् १८१६ मा भएको सुगौली सन्धिका आधारमा दुई देशका सीमा तोकिएको छ। चीनसँग सन् १९६१ मा भएको सन्धिका आधारमा सीमा निर्धारण गरिएको छ। यी दुई सन्धिका आधारमा नेपालले आफ्नो भूमि प्रयोग गरिरहेको छ।

आधिकारिक दस्ताबेज हुँदाहुँदै पनि यी दुई छिमेकीसँग सीमा विवाद रहँदै आएको छ। तुलनात्मक रूपमा चीनसँग भन्दा भारतसँग सीमा समस्या धेरै आउने गरेको छ। समाधानमा चासो नदिइँदा एउटै समस्याले बारम्बार गिजोलिरहेको छ। विवादित ठाउँको सीमा निर्धारणका लागि दुवै मुलुकबाट पहल पनि भएका छन्। कूटनीतिक कमजोरीले हो वा राजनीतिक प्रभावका कारण समस्या भने ज्युँका त्युँ छ। सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा संयुक्त वक्तव्य जारी गरेर सीमा विवाद टुंग्याउने सहमति भएको थियो। सुस्ता र कालापानीका विषयमा सहमति नभएपछि त्यतिबेला पछि छलफल गरेर समस्या समाधान गर्ने प्रस्ताव भारतको थियो। तर सीमासम्बन्धी सबै समस्या एकैपटक समाधान गर्नुपर्ने नेपालको अडानपछि परराष्ट्र सचिवस्तरीय द्विपक्षीय संयन्त्र गठन गर्ने सहमति भएको थियो। अहिले उक्त संयन्त्र निष्क्रिय भएकाले बैठकसमेत बस्न सकेको छैन। सीमा विवाद कर्मचारी तहबाट मात्र नभई राजनीतिक तहबाटै टुंग्याउन पहल गर्नुपर्छ। परराष्ट्रमन्त्री स्तरमा वा प्रधानमन्त्री स्तरबाटै वार्ताको वातावरण बनाउनुपर्छ।

समाधानको पहल हामीले नै गर्नुपर्छ किनकि सीमा विवादमा नेपाली नै बढी पीडित छन्। धेरै भूभाग नेपालकै मिचिएको छ। यसका लागि नेपालले आफूसँगको प्रमाण बलियो बनाउन सक्नुपर्छ। कूटनीतिक कौशल र प्राविधिक क्षमताका साथ प्रस्तुत हुनुपर्छ। त्यसपछि आफूसँग भएका तथ्य, प्रमाण र दस्ताबेजले नेपालको प्रस्तुतिलाई थप बलियो बनाउँछ। तर अहिलेसम्मको कूटनीतिक शैली हेर्दा यसमा विश्वास गर्न कठिन हुन्छ। तयारी कमजोर छ। समस्या समाधानको पहिलो उपाय संवाद नै हो। संवादबाट समाधान ननिस्के अन्य संयन्त्र प्रयोग गर्नुपर्छ। नेपालले आफूलाई कूटनीतिक, राजनीतिक र प्राविधिक रूपमै निपुर्ण छु भन्ने लाग्छ भने सीमा विवादको विषयलाई संयुक्त राष्ट्रसंघ वा अन्तर्राष्ट्रिय अदालतसम्म पनि लैजाने हिम्मत गर्नुपर्छ।

सीमा विवाद धेरै ठाउँमा छ। नेपालले समाधानको पहल भने टुक्राटाक्रीमा गर्दै आएको छ। त्यसैले सरकारले सीमा समस्या अध्ययनमा शक्तिशाली आयोग बनाउनुपर्छ। त्यो आयोगले पहिचान गरेका समस्याका आधारमा दुवै छिमेकीसँग अलग–अलग वार्ता गरेर समाधान पहिल्याउनुपर्छ। हामीतिर पनि कुनै मुलुकको भूभाग घुसेको प्रमाणित भए ससम्मान फिर्ता गर्ने हिम्मत गर्नुपर्छ। हाम्रो भूमि छिमेकीले उपयोग गरेको पाइएमा त्यो पनि फिर्ता लिन कूटनीतिक कौशल देखाउनुपर्छ। झगडाको शैलीमा होइन, सौहार्दपूर्ण वार्ताबाट सम्पूर्ण सीमा विवाद थोकमा सुल्झाउनुपर्छ।

Related Articles

Back to top button
Close