News

मधेसका जनता राष्ट्रघाती होइनन्, झन् कट्टर राष्ट्रवादी हुन् भन्ने नक्सामा लिम्पियाधुरा समेट्न भएको संविधान संशोधनले देखाइसकेको छ।

आउनुहोस्, आज मनको कुरा गरौं। मन प्रफुल्ल भयो भने शरीर जागरुक हुन्छ। मन उदास भयो भने शरीर झोक्राउँछ। राजनीति, कूटनीति वा जुनसुकै नीतिमा किन नहोस्, मनमै तागत हुन्छ। आफ्नो मात्र होइन, अर्काको मन बुझ्न सक्यो भने समाधान निस्किन्छ। त्यसका लागि कि मनोविज्ञान पढ्नुपर्छ। कि मनोविज्ञसँग परामर्श लिनुपर्छ। त्यो सफल राजनेता हुन्छ, जसले दुखेका मनमा मलम लगाउँछ। पीडा, व्यथा र छटपटीले क्रुद्ध बनेको मनलाई शान्त गराउन सक्छ। र, त्यही शान्त मनको बलमा आफूलाई सफलताको चुचुरामा चढाउँछ।

केही दिनपहिला एउटा कमेडी हेरेको थिएँ। घरमा प्रेसर कुकर बिग्रन्छ। बाउले छोरालाई बनाउन पठाउँछ। कुकर हल्लाउँदै हिँडिरहेको उरन्ठेउलो छोराको नजरमा अगाडि एक व्यक्ति पर्छ। उसले धोती–कुर्था लगाएको हुन्छ। अर्थात्, हेर्दा मधेस भूमिका बासिन्दा। मधेसी। त्यो केटाले सोझै भन्छ, ‘ओ भैया, मेरो यो कुकर बनाइदेऊ न।’

‘मलाई तैंले कुकर बनाउने देखिस् ? ’ ऊ रिसाउँछ।

‘तेरो काम कुकर बनाउने त हो नि’, केटो नाप्पिन्छ।

मन दुखाउँदै त्यो बटुवाले भन्छ, ‘मधेसको अनुहार देख्नेबित्तिकै तिमीहरू हामीलाई कुकर बनाउने, फोहोर उठाउने, साइकल मर्मत गर्ने, चटपटे–पानीपुरी बेच्ने देख्न थालिहाल्छौ। हुन त त्यो पनि एउटा पेसा हो। तर, त्यसलाई तिमीहरू नीच रूपमा हेर्छौ। र, तिमीहरूको नजरको त्यही नीच काम गर्ने नीच ठान्छौ हामीलाई।’

केटो ट्वाँ पर्छ।

‘खासमा तिमीहरू हामीलाई नेपाली ठान्दैनौ’, बटुवा एक्लै बोल्दै अघि बढ्छ, ‘अझ भन्नुपर्दा मान्छे नै मान्दैनौ। मन ठूलो पार। सबैलाई बन्धुत्वको नजरले हेर। तब मात्र यो देशमा भावनात्मक एकता हुन्छ।’

सम्मान– श्रद्धा वा घृणा–अपमान मनकै उपज हुन्। यो देशका करिब ३ करोड हामी नागरिक समान हौं। तर, त्यो समानता व्यवहारमा प्रकट हुन सकेको छैन। किनारीकृत गरिएको हिस्सा ठूलै छ। त्यसमध्ये दुखेको मधेसको मन संविधान संशोधनका क्रममा संसद्मा व्यक्त भयो। लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्ने अभियानमा मधेसवादी दलको साथ नमिल्ने धेरैको आकलन थियो। मधेसले माग्दै आएको आफ्नो एजेन्डाको संविधान संशोधनको अड्को थाप्ने केहीको अनुमान थियो। तर, दुवै भएन। मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरूले राष्ट्रियताका पक्षमा अरूले भन्दा बुलन्द मन्तव्य दिए। बिनासर्त। र, मन चंगा बनाए।

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले भने, ‘को–को हुन् राष्ट्रघाती यो देशमा ? मधेसीलाई राष्ट्रघाती भन्ने ? मधेसीलाई राष्ट्रवादी नभन्ने ? यो देशका मधेसी जनतालाई कसैले औंला ठड्याउने काम नगरोस् राष्ट्रवादका मामलामा। सभामुख महोदय, कतिचोटि अग्निपरीक्षा दिने हो ? कतिचोटि प्रमाण दिने हो हामी ? यस्तो अग्निपरीक्षा नलिनुहोस्। सम्पूर्ण नेपाली जनतालाई म यो रोस्ट्रमबाट आग्रह गर्न चाहन्छु– यस्तो अग्नि परीक्षा नलिनुहोस्। मधेसी, आदिवासी, जनजाति, थारू, दलितमाथि अन्याय नगर्नुहोस्।’

उनको बुझाइको राष्ट्रघाती त्यो हो, जसले खुसुक्क ‘देश बेच्यो’। ‘राष्ट्रघाती को–को हो, देश बेचुवा को–को हो, पहिचान हुनुप¥यो। कालापानी, लिपुलेक लिम्पियाधुरा नेपालको नक्सामा त थियो, ५८ वर्षपहिला अरे। कुन देशबेचुवाले बेच्यो ? श्वेतपत्र खोइ जारी गरेको ? श्वेतपत्र जारी गर्नु पर्दैन ? टुँडिखेलमा राष्ट्रघातीलाई झुन्ड्याउनु पर्दैन ? ढाकछोप गर्ने ? २५ वर्षपहिला महाकाली सन्धि भएको थियो। यही संसद्बाट पारित गराइएको थियो। महाकालीलाई संसद्बाट पारित गराउँदा त्यसको मुहानचाहिँ पत्ता नलगाउने ? ’ महतोले भने, ‘हात जोडेर प्रधानमन्त्रीलाई म के प्रार्थना गर्छु भने, यो कागजमा कोरेर नेपाली जनताले पाउँदैन। त्यो जमिन चाहियो नेपाली जनतालाई, भूमि चाहियो।’

सिरहामा एउटा गाउँपालिका छ– औरही। त्यसको पुरानो नाम सुब्बा औरही हो। राणाकालमा श्री ३ महाराजले अख्तियारी दिएका सुब्बा हुन्थे त्यहाँ। तीमध्ये सुब्बा बृजलाल यादवको ८४ मौजा थियो। मधेस अध्येता रामरिझन यादवले सुनाएअनुसार उनको निरंकुश हैकम र हुकुम सहिनसक्नु थियो। उनी यतिसम्म पापिष्ट थिए कि गाउँमा जुनसुकै रूपमा आउने महिलाको पहिलो रात उनीसँगै बित्नुपथ्र्यो। अनिवार्य। नत्र ज्यानको जोखिम हुन्थ्यो। त्यति अत्याचारी भए पनि बृजलाल सुब्बाको सिरहामा अझै निकै पौरख गाइन्छ। कारण हो– उनले तत्कालीन अंग्रेज शासकलाई उता–उता धकेलेर नेपालको सीमा केही परसम्म सार्न सफल भएका थिए रे।

मधेसका जनता राष्ट्रघाती होइनन्, झन् कट्टर राष्ट्रवादी हुन् भन्ने नक्सामा लिम्पियाधुरा समेट्न भएको संविधान संशोधनले देखाइसकेको छ। अब थप ‘अग्निपरीक्षा’ लिन चाहनु बेकार हो।
खुला सीमाका कारण पनि मधेस द्विदेशीय लफडाको साक्षी मात्र होइन, भूमि रक्षाको कवचसमेत हो। बृजलाल सुब्बाको जस्तो विस्तारवाद अचेल पारिबाट चल्छ। मधेसका नेपाली नागरिक लाठी बोकेर भिड्न जान्छन्। कति ठाउँमा त रोपाइँ भइरहेको खेतमा रातारात नयाँ जंगेपिलर ठडिन्छन्। कुटो बोकेर भत्काउन पुग्छन् हाम्रा मधेसका युवा। सीमाको निगरानी गर्छन् तिनैले। भारतले जथाभावी बनाएका बाँधका बर्खामा डुबान सहन्छन् तिनैले। हिउँदमा पानी उता जान्छ, यता चरचरी जमिन चिरिएको छाती चिरेरै सहन्छन् तिनैले। चोरी–डकैती, एसएसबीका लात्ती खेप्छन् तिनैले। त्यसमाथि राजेन्द्र महतोले भनेजस्तै राष्ट्रघातीको ट्याग पाइरहन्छन् तिनैले। पटक–पटक अग्निपरीक्षा दिइरहन्छन् तिनैले।

अनि, किन नदुखोस् मन !

२०७३ साउनमा सप्तरीको तिलाठीमा भारतले नेपाली भूमि डुब्ने गरी रातारात बाँध बनायो। असह्य भएपछि नेपाली समुदाय उर्लिएर भत्काउन पुगे। वृद्धवृद्धा, बालबच्चा, महिलासहितको जमातमाथि उताबाट सांघातिक आक्रमण भयो। त्यसमा देवनारायण यादवसहित १२ जनाभन्दा बढी घाइते भए। यस्ता घटना मधेसमा भइरहन्छन्। यो त उदाहरण मात्र हो। काठमाडौंले त्यो सुन्छ। मिडियाले लेख्छ। देशले थाहा पाउँछ। तर, मधेसले भोग्छ। त्यसमा मधेस भिड्छ। तर पनि जस पाउँदैन। उल्टै ‘अराष्ट्रवादी’ बिल्ला पाउँछ।

कतिले त सोधेकै सुनिन्छ, ‘मधेसी कि नेपाली ? ’ मधेसी पनि नेपाली नै हुन् भन्ने अझै धेरैका मनमा छिर्न सकेको छैन। त्यसले मन दुखाउनु अस्वाभाविक होइन।

मन दुखाइ महतोको मात्र होइन, जसपाका अध्यक्ष उपेन्द्र यादवको पनि चसक्कै हुने गरी दुखेको थियो। संसद्को त्यही रोस्ट्रमबाट उनले पनि उत्तिकै आक्रोश पोखे। ‘सुगौली सन्धि अपमानजनक थियो। किनभने, नेपालले ठूलो भूभाग गुमाउनुप¥यो। दोस्रो अपमानजनक यसको धारा ७ मा थियो। त्यसमा भनिएको थियो, नेपालले कुनै पनि युरोपियन, अमेरिकन वा विदेशीलाई काम दिँदा इस्ट–इन्डिया कम्पनीलाई सोध्नुपर्ने थियो। त्यसमा हस्ताक्षर गरिएको अपमानजनक थियो। तथापि त्यो सन्धिले काली नदीलाई सिमाना मानेको थियो। त्यसको धारा ५ मा नेपालले काली नदीभन्दा पश्चिमका आफ्नो भागको दाबी छाड्नेछ भनिएको थियो’, उनले भने, ‘तर, महाकाली सन्धि गर्दा त्यसका हर्ताकर्ताहरूले महाकाली नदीको अधिकांश भाग सीमा भएको स्विकारेका छन्। सुगौली सन्धिमा पाएका अधिकार महाकाली सन्धिले पछाडि धकेल्ने काम भयो। जवाफ दिनुप¥यो, यसरी राष्ट्रको अहित गरेको हो कि होइन ? देश र जनतासँग यहाँहरूले माफी माग्ने कि नमाग्ने ? माफी माग्नुप¥यो। राष्ट्रवादको नारा हामी दिन्छौं, मधेसीलाई गाली गर्छौं, यिनीहरू भारतीय हुन् भनेर। तर, राष्ट्रघात आफैं गर्छौं भन्नुप¥यो नि।’

जबसम्म सबै समुदायलाई भावनात्मक एकतामा जोड्न सकिँदैन, तबसम्म आन्तरिक एकता दह्रो नहुने र बाहिरी शक्तिसँगको डिप्लोमेसीले काम नगर्ने यादवको भनाइ थियो। ‘त्यसकारण पहिला राष्ट्रिय एकता खोज्नुहोस्। जातीय, संकीर्णतावादी भावना त्याग्नुहोस्’, उनको सुझाव थियो।

यतिबेला नेपाल–भारत सीमा विवाद उत्कर्षमा छ। १८१६ मा सुगौली सन्धिअनुसार काली नदीको उद्गमस्थल लिम्पियाधुरासम्मको भूमि हामी चाहिरहेका छौं। त्यसको नक्सा भने संविधानमै अंकन गरिसक्यौं। त्यही सुगौली सन्धिकै मेमोरन्डमको धारा ७ मा मधेसका जनतालाई मधेसका राजाले दुव्र्यवहार नगर्ने र पराइ नठान्ने सर्त राखिएको थियो। ब्रिटिस–इन्डियाले चार जिल्ला (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) नेपाललाई दिएपछि त्यहाँका बासिन्दालाई नेपालमा बस्ने कि भारततर्फ जानेबारे छान्न अवसर दिएको थियो। त्यही क्रममा जो नेपालमा बसे तिनको पुस्तौंपुस्ता संरक्षणको सन्धिमै प्रत्याभूत गरिएको थियो। तर, भावनात्मक सम्मि श्रण अझै नभएको मधेसवासीको चित्त दुखाइ छ।

छनलाई मधेस समथर छ। हेर्दा सुगम हो। तर, मानव विकास सूचकांकमा बाजुरा, बझाङ, कालिकोट र हुम्लापछि मधेसका रौतहट र महोत्तरी पर्छन्। केहीलाई छाडेर अरू जिल्ला पनि गरिबीकै चोट खेपिरहेका छन्। मानव विकास सूचकांक औसत आयु, शिक्षा र प्रतिव्यक्ति आयको सरदर रूप हो। यसको अर्थ मधेसको जीवन छोटो छ। शिक्षा कमजोर छ। कमाइ कम छ। त्यही भएर संघीय प्रतिस्पर्धामा पछाडि छ।

अब देशमा संघीय लोकतान्त्रिक गणतन्त्र छ। संविधानले समावेशितालाई प्रोत्साहन गरेको छ। सबै जाति, सम्प्रदाय, भाषाभाषी र समुदायको समावेशी सहभागिताका आधारमा देश अघि बढ्न थालेको छ। यस्तो अवस्थामा मधेसमाथि अविश्वास गरेर होइन, समान अवसर प्रदान गरेर देशलाई उन्नतिको शिखरमा लैजानु काठमाडौंलाई चुनौती बनेको छ। मधेसका जनता राष्ट्रघाती होइनन्, झन् कट्टर राष्ट्रवादी हुन् भन्ने नक्सामा लिम्पियाधुरा समेट्न भएको संविधान संशोधनले देखाइसकेको छ। अब थप ‘अग्निपरीक्षा’ लिन चाहनु बेकार हो। सिंगो देश हातेमालो गरेर अघि बढ्नुपर्छ। तब पो मधेसको मन प्रसन्न हुनेछ।

Related Articles

Back to top button
Close