News

कोरोना संक्रमितकाे नयाँ विश्व रेकर्ड : एकैदिन एक लाख बढी संक्रमित थपिए

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस संक्रमणको घटनामा अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको जनाएको छ। डब्ल्यूएचओकाअनुसार विगत २४ घण्टामा एक लाख ८३ हजार संक्रमित थपिएका छन्। संयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमण पुष्टि भएको देशको रूपमा कायम छ जहाँ २० लाख जति संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरसबाट धेरै मृत्यु हुने देशहरूमध्ये ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ जहाँ ५० हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन्। संक्रमित व्यक्तिहरूको संख्या दश लाखभन्दा बढी पुगेको पुष्टि गरिएको केही दिनपछि मृतकको संख्या विश्वमै दोस्रो बढी देखिएको हो। तर विज्ञहरू पर्याप्त परीक्षण नगरिएका कारण र संक्रमण उच्च बिन्दुमा पुग्न बाँकी रहेकाले वास्तविक संख्या अझ बढी हुन सक्ने बताउँछन् ।

यसअघि आइतबार स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा थप ६४१ जनाको मृत्यु भएको जनाएको थियो। त्यो संख्या थपिएसँगै देशमा कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिहरूको संख्या ५०,६१७ पुगेको छ । विगत २४ घण्टामा १७ हजार नयाँ संक्रमित थपिएका छन्। मृत्यु हुने र संक्रमित हुने व्यक्तिहरूको संख्यामा तीव्र वृद्धि भइरहँदा पनि राष्ट्रपति जाइर बोल्सोनारूको दबावका कारण ठूला शहरहरू फेरि खुला गर्न थालिएका छन्।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लागु गरिएका प्रतिबन्धात्मक नियमहरूका कारण अर्थतन्त्र ध्वस्त भएको राष्ट्रपतिको दाबी रहिआएको छ।

यसैबीच, राष्ट्रपति बोल्सोनारूका हजारौँ समर्थक तथा विरोधीले देशका विभिन्न शहरमा समानान्तर प्रदर्शनहरूको आयोजना गरेका छन्।

सबैभन्दा ठूला प्रदर्शनहरू साओ पावलो, रियो द जेनैरो र राजधानी ब्राजिलियामा भएका छन्। ब्राजिलियास्थित संसद् र सर्वोच्च अदालत भवनबाहिर जम्मा भएका प्रतिद्वन्द्वी प्रदर्शनकारीहरूलाई प्रहरीले एकअर्कासँग मिसिन दिएनन्। संसद् र सर्वोच्च अदालतले राष्ट्रपति बोल्सोनारूको अधिकार कटौती गर्न चाहेको उनका समर्थकहरूको आरोप छ।

बिहीवार राष्ट्रपतिका पूर्वसहयोगी र तिनको परिवारका सदस्यलाई गिरफ्तार गरिएपछि विपक्षीहरूले बोल्सोनारूमाथि महाभियोग लगाउन माग गरेका छन्।

Related Articles

Back to top button
Close