News

ओखलढुंगाका पहिलो संक्रमितको यस्तो छ ट्राभल हिस्ट्री

ओखलढुंगा : कोरोना संक्रमणबाट सुरक्षित मानिएको ओखलढुंगामा पहिलो पटक संक्रमित फेला परेपछि त्रास बढेको छ। आइतबार लिखु गाउँपालिकामा एक युवामा संक्रमण भएको पुष्टि भएको थियो। उनलाई परिक्षणमा संक्रमण देखिए पनि कुनै लक्षण देखिएको छैन्। अवस्था सामान्य रहेको र उनलाई मोरङको गोठगाउँस्थित कोभिड अस्पताल पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताए।

जिल्लाभर आवत् जावत तथा सीमामा सर्तकता अपनाइएको छ। छिमेकी जिल्ला, विदेश तथा भारतबाट आउने सबैलाई अनिवार्य क्वारेन्टाइनमा राखेर परिक्षणपछि मात्रै घर पठाउन कोरोना नियन्त्रणका लागि गठित जिल्ला कमाण्ड पोष्ट निर्देशन दिएको छ।

यस्तो छ संक्रमितको ‘ट्राभल हिस्ट्री’
संक्रमित भारतबाट जेठ ३० गते लिखु गाउँपालिका आइपुगेका थिए। महोत्तरीको बर्दिबासबाट उनलाई एम्बुलेन्सबाटै क्वारेन्टाइनमा लगेर राखिएको थियो। उनको मन्थलीमा स्वाब संकलन गरेर परिक्षण गर्दा संक्रमण देखिएको हो। उनी भारतबाट विरगञ्ज हुँदै जेठ १९ गते बसमा महोत्तरीको इटाटार आएका थिए। उनीहसँग अरु ३६ जना साथीहरु थिए। इटाटार क्वारेन्टाइनमा ३ दिन बसेपछि उनी जेठ २२ गते एकजना साथीसँग मोटरसाइकलमा महोत्तरीको जनसेवा अस्पताल गए। त्यहाँ ७ दिन क्वारेन्टाइनमा बसेपछि एम्बुलेन्सबाट जेठ ३० गते रामेछापको मन्थलीमा स्वाब दिएर लिखु गाउँपालिका आएका थिए। एम्बुलेन्समा एक्लै आएका उनलाई सिधै लिखु गाउँपालिकाको केन्द्रमा रहेको क्वारेन्टाइनमा राखिएको थियो। असार ७ गते उनलाई संक्रमण देखिएको छ।

संक्रमितसँग यात्रा गर्ने ३६ जनाको खोजी हुँदै
उनीसँगै आएका अन्य ३६ जना महोत्तरीमा रहेको ती संक्रमितले बताए। जिल्ला कमाण्ड पोष्टले संक्रमितको हिस्ट्री पहिचान गरेर सम्बन्धित जिल्लालाई जानकारी गराएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। उनका अनुसार जिल्लामा पिसिआरको परिक्षण दायरा बढाइएको र सीमा तथा आवजावतमा कडाइ गरिएको छ। संक्रमितसँग यात्रामा महोत्तरी आएका ३६ जनाको पहिचान गरेर परिक्षण गराउन सम्बन्धित जिल्लामा समन्वय भइरहेको पौडेलले जानकारी दिए।

Related Articles

Back to top button
Close