चीनसँग तर्सिएपछि भारतीय मिडियाले लेखे: ‘कालापानीमा नेपाली सेनाको ड्रेस लगाएर चिनियाँ सेना आए’
काठमाडौं : नेपाली जनताले आफ्नो भूमी फिर्ता पाउनुपर्छ भन्दा नेपाल चीनको इशारामा चलेको आरोप लगाउँदे आएका भारतीय मिडिया नेपालमाथि एकपछि अर्को आरोप लगातार लगाउँदै आएका छन्।
पूर्वी लद्दाखमा चीनबाट ठूलो मानवीय क्षति बेहोरेको भारतले जनताको ध्यान मोड्न अनेक प्रपञ्च रच्न थालेको छ। भारतीय खुफिया एजेन्सीले पाकिस्तानतर्फको क्षेत्रमा आतंककारीको मृत्यु भन्दै एकातर्फ हल्ला फैलाएको छ भने अर्को तर्फ नेपाल माथि विभिन्न आरोप लगाउँदै गलत हल्ला आफ्ना जनतामा फेलाउँने गरेको छ।
नेपाली सेनाले अहिले आफ्नो क्षेत्रमा सडक निर्माण गरिरहेको छ। गत वैशाख ३१ गते सरकारले दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरेको थियो।
सीमा सुरक्षाका लागि बीओपी र दार्चुला–तिंकर सडक निर्माण सुरक्षार्थ सेनाको अस्थायी बेस स्थापना गरिएको थियो। कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सेनाको अस्थायी बेस निरीक्षणका लागि ३ दिन अघि प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल उक्त स्थानमा पुगेका थिए।
अहिले पनि सडक निर्माणको काम चलिरहेको छ। भारतीय मिडियाले भने उक्त क्षेत्रमा नेपाली सेनाको ड्रेस लगाएर चिनियाँ सेना आएको दाबी गर्दै भ्रमपूर्ण समाचार लेखिरहेका छन्। जागरण पत्रिकाको अनलाइन संस्करणमा प्रकाशित समाचारमा कालपानी क्षेत्रमा चिनियाँ सेना आएको भन्दै भारतीय खुफिया एजेन्सी सतर्क भएको उल्लखे गरेको छ।
उक्त क्षेत्रमा निर्माण कार्यमा संलगन नेपाली सेनाको बोलीचलाी एवं शारीरिक बनावट चिनियाँ जस्तै रहेको र यो कुरालाई भारतीय खुफिया एजेन्सीले गम्भीर रुपमा लिएको समाचारमा जनाइएको छ।