News

युभेन्ट्स ३६‍औं उपाधितर्फ

रोम : इटालियन सिरिए फुटबलको सोमबार राति खेलिएको खेलमा साविक विजेता युभेन्ट्सले सफलता हात पारेको छ। ३६औं सिरिए उपाधि जित्ने अभियानमा रहेको युभेन्ट्सले आफ्नो पछिल्लो खेलमा बोलोग्नालाई उसैको घरेलु मैदानमा २–० गोलले हरायो।

जितसँगै युभेन्ट्सले अंक तालिकामा आफ्नो निकटतम प्रतिद्वन्द्वी लाजियोसँगको दूरी पनि बढाएको छ। युभेन्ट्सले दुवै गोल खेलको पहिलो हाफमै गरेको थियो। खेल सुरु भएको २३औं मिनेटमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए।

यसैगरी ३६औं मिनेटमा पाउलो डिबालाले टोलीका लागि दोस्रो गोल थपेका थिए। खेलको अन्त्यतिर युभेन्ट्स १० खेलाडीमा समेटिएको थियो। युभेन्ट्सका ड्यानिलो दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। हालसम्म २७ खेल खेलेको युभेन्ट्स ६६ अंकसहित तालिकाको पहिलो स्थानमा छ।

तालिकाको दोस्रो स्थानमा आसीन लाजियोले भने २६ खेलबाट ६२ अंक बटुलेको छ। लाजियोले आफ्नो २७औं खेल बुधबार एटलान्टासँगै उसैको मैदानमा खेल्नेछ। युभेन्ट्ससँग पराजित बोलोग्ना भने २७ खेलबाट ३४ अंक बटुल्दै तालिकाको १०औं स्थानमा छ।

सन् २०११÷१२ सिजनयता युभेन्ट्सले लगातार सिरिएको उपाधि चुम्दै आएको छ। त्यसअघि सन् २०१०÷११ सिजनमा एसी मिलानले सिरिएको उपाधि जितेको थियो। सर्वाधिक सिरिए उपाधि जित्ने क्लबको सूचीमा युभेन्ट्सपछि एसी मिलान दोस्रो स्थानमा छ। एसी मिलानले हालसम्म १८ पटक सिरिएको उपाधि चुमेको छ। एसी मिलानले भने सोमबार राति नै खेलिएको आफ्नो पछिल्लो खेलमा लिसलाई ४–१ गोलले हराएको थियो।

Related Articles

Back to top button
Close