News

सीमा सुरक्षाको जग बसाल्न राजासँग टक्कर लिने पूर्वआईजीपी

नेपाल आमाको गरिमामय कोखबाट समयको अनन्त गतिमा बेलाबेलामा महान व्यक्तिहरूले जन्म लिएका छन् । कोही सेना, कोही प्रहरी, कोही कूटनीति त कोही राजनीति आदि विभिन्न क्षेत्रमा आबद्ध भई ख्याति कमाउन सफल भएका छन् ।

व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर राष्ट्र र समाजको हितार्थ क्रियाशील भई आफू आबद्ध क्षेत्रमा अतुलनीय योगदान दिएर ‘महामानव’ कहलिएका छन् । नेपाल आमाका तिनै सपूतमध्ये खड्गजीत बराल एक हुनुहुन्छ, जसको नाम र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योगदानहरू इतिहासका गौरव गाथाहरूमा समेटिएको पाइन्छ र समाजमा सम्मानका साथ पुकारिन्छ ।

खड्गजीत बराल मेरो हजुरबुबा हुनुहुन्छ । म यो स्पष्ट पार्न चाहन्छु कि परिवारको एउटा सदस्य भएको नाताले भावनात्मक सामीप्यलाई प्राथमिकतामा राखेर मैले उहाँको योगदान समेटेर यो लेख तयार गरेको होइन ।

नेपाल प्रहरीको सर्वसम्मानित नायकको रुपमा आफूलाई स्थापित गर्न सफल पूर्वप्रहरी महानिरीक्षक खड्गजीत बराल अहिले आकस्मिक अस्वस्थ्य भई अस्पतालमा भर्ना हुनुभएको छ । यसमा मलगायत परिवारजन तथा धेरै शुभेच्छुक मर्माहत बनेका छौँ र उहाँलाई पूर्ववत् अवस्थामै देख्न पाऔँ भनी हामीले परमेश्वरसँग प्रार्थना गरिरहेका छौँ ।

वि.सं. २०१३ मा लोक सेवा आयोगको खुल्ला प्रतिस्पर्धाबाट ईन्स्पेक्टरमा नियुक्त हुनुभएका बराल लोकसेवा आयोगबाट नेपालको प्रहरी महानिरीक्षकमा सिफारिस हुने प्रथम स्नातकोत्तर उतीर्ण प्रहरी अधिकृत हुनका साथै ४४ वर्षको कनिष्ठ उमेरमा महानिरीक्षक हुने प्रथम व्यक्ति हुनुहुन्छ ।

साधारणतया प्रहरी प्रमुखको कार्यकाल ४ वर्षको हुन्छ । नेपाल प्रहरीको इतिहासमा ६ वर्षसम्म आईजीपीको जिम्मेवारी वहन गर्ने दुईजना मात्र हुनुहुन्थ्यो: खड्गजीत बराल र रोमबहादुर थापा ।

 

भारतको माउन्ट आबुबाट आई.पी.एस. तालिम, जापानको ‘टोकियो ईम्पिरियल पुलिस कलेज’, संयुक्त अधिराज्य बेलायतको वेल्सस्थित कार्डिफ पुलिस स्कुल र संयुक्त राज्य अमेरिकाको एफ.बि.आई.बाट तालिम प्राप्त गर्नुभएका बरालको ज्ञानको क्षितिज निकै फराकिलो छ ।

जापानमा तालिमरत रहँदा जुडो खेल अवलोकन गरेपछि उहाँकै अग्रसरतामा जापानी जुडो प्रशिक्षकहरू झिकाई नेपालमा जुडो खेल भित्र्याइएको थियो । यसरी उहाँले विदेशी तालिममा प्राप्त अवसरको पूर्ण रूपमा सदुपयोग गर्नुभएको देखिन्छ ।

नेपाली खेलकुदप्रति बरालको योगदान जुडोमा मात्र सीमित नरहेर हकीमा पनि देखिन्छ । नेपालमा जुडोलाई परिचित गरेझैँ उहाँले पाकिस्तानबाट हकी प्रशिक्षकहरू बोलाई नेपालमा हकी खेल पनि परिचित गराउनुभएको थियो । संयोगवश उहाँले विद्यार्थी जीवनमा सिकेको हकी खेल नेपालमा मात्र नभएर तत्कालीन बर्माको राजदूत छँदा त्यहाँ पनि परिचित गराउन सफल हुनुभयो ।

नेपाल प्रहरी पर्वतारोही प्रतिष्ठान स्थापना गर्ने क्रममा याकमा सगरमाथा भ्रमण गर्दै ।

नेपालमा पर्वतारोहण र सीमा सुरक्षाको जग बसाल्न पनि बरालको अग्रणी भूमिका देखिन्छ । नेपालीहरू विदेशी पर्वतारोहीहरूको भरियामा मात्र सीमित नभई आफैँ पनि आरोहणमा संलग्न होऊन् भनी तत्कालीन आईजीपी बरालकै अग्रसरतामा नेपाल प्रहरी पर्वतारोही प्रतिष्ठान (नेपाल पुलिस माउन्टेनियरिङ्ग एण्ड एड्भेन्चर फाउन्डेशन) स्थापना गरियो ।

सन् १९७६ मा ६९२० मिटरको टुकुचे हिमाल र सन् १९७८ मा ७१०२ मिटर उचाइको पाबिल हिमाल प्रतिष्ठानकै टोलीद्वारा आरोहण भएका थिए ।

नेपालको सीमा दक्षिणतर्फ मात्र नभएर उत्तरतर्फ चीनसँग पनि जोडिएको छ भन्ने यथार्थ सरोकारवाला पक्षलाई बारम्बार स्मरण गराउनका अतिरिक्त नेपालको हिमाली भागमा कानूनको प्रत्याभूति दिलाउने भूमिका समेत उक्त प्रतिष्ठानले खेलेको थियो ।

२०२५-२७ सालमा बराल नेपालन्जमा डीआईजी छँदा बरालको अग्रसरतामा नेपाल-भारत सीमामा प्रथम पटक सीमा सुरक्षा प्रहरी चौकीहरू स्थापना भएका थिए । उहाँकै दूरदर्शीता अनुरूप पछि २०२९ सालमा प्रहरी प्रमुखमा नियुक्त भएपछि ‘१६ वर्षीय सीमा सुरक्षा प्रहरी चौकी’ को योजना बनाइएको थियो ।

यस योजना अन्तर्गत २०३५ सालको प्रारम्भसम्म नेपाल-चीन सीमामा ओलाङ्गचुङगोला, किमाथाङ्का, थ्याङ्गबोचे, छेकम्यार, हुम्दे, लोमन्थाङ, मुचू, तिन्जे, मुगु, तिङकर, यारी र नेपाल-भारत सीमामा दत्तु, साँगडी, कट्टी कटैया, संग्रामपुर, पशुपतिनगर, कृष्णनगर, मानेभञ्ज्याङ, बेलहिया, काँकडभिट्टा सहित २० वटा ठाउँमा सीमा प्रहरी चौकीहरू स्थापना भएका थिए ।

तर, त्यो ‘भिजन’ विरूद्ध विभिन्न चालहरू चलिरहे । ‘सीमाको सुरक्षा किन गर्नु पर्यो ? नेपाल-भारत सीमा र नेपाल-चीन सीमामा प्रहरी चौकी स्थापना गरेर नेपाल प्रहरीले के उद्देश्य प्राप्त गर्न खोजेको हो ?’ भन्नेखालका अत्यन्तै अतार्किक र अदूरदर्शी प्रश्नहरू बारम्बार आइरहे ।

पञ्चायतकालको बिगबिगीमा तत्कालीन श्री ५ को सरकारसँग टक्कर लिएर आईजीपी बरालबाट नेपालमा सीमा सुरक्षाको जग बसालिएको थियो ।

यद्यपि त्यसपछिको घटनाक्रमलाई नेपालको इतिहासकै एउटा दुर्भाग्य मान्नुपर्छ किनकि उहाँको अवकाशपछि यस योजनालाई षडयन्त्रपूर्वक रद्द गरियो जसको परिणाम हाल नेपाल र नेपाली जनताले भोग्नु परिरहेको छ । प्रस्तावित सीमा सुरक्षा प्रहरी इकाईहरू समयमै स्थापना हुन सकेको भए विगत केही वर्षदेखिका देशमा विद्यमान सीमा सम्बन्धी चुनौतीहरूले सायद अहिलेको जस्तो विकराल रूप लिने थिएन होला ।

त्यस समयमा जनताको सुरक्षामा खटिने प्रहरीलाई दैनिक दुई छाक टार्न पनि धौधौ हुन्थ्यो । यसलाई मध्यनजर गर्दै बरालले प्रहरी प्रमुखको कार्यभार सम्हाले लगत्तै प्रहरीमा रासनको व्यवस्था गर्ने कामलाई अघि सार्नुभयो । तत्कालीन दरबार र शाही नेपाली सेनाका केही उच्च पदस्थ अधिकारीहरूले प्रहरीको यस कदमलाई नरुचाउँदा पनि उहाँले आफ्नो अडान छाड्नु भएन ।

दरबारको प्रत्यक्ष शासनमा प्रहरीको हितार्थ दरबार र सेनासँग टक्कर लिनु सानो साहसको परिचायक पनि होइन । दरबार र तत्कालीन श्री ५ को सरकारसँग झगडा गरेर २०३० सालमा उहाँले प्रहरीमा रासनको व्यवस्था गर्न सफल हुनुभयो, जुन गुन अहिले पनि देशभर छरिएर रहेका प्रहरीहरूले बिर्सेका छैनन् ।

सन् १९८० मा बर्मा (मयानमार) स्थित नेपाली दूतावासमा तत्कालीन राजदूत खड्गजीत बराल (बायाँ) स्वर्गीय राजा वीरेन्द्रका साथ ।

पहिला नेपाल प्रहरीमा ब्यारेकको व्यवस्था थिएन । प्रहरीहरू पाटी पौवामा वा आफ्नै खर्चमा डेरामा बस्न बाध्य थिए । समस्या परेमा प्रहरीसँग बोल्न जनता डराउने अवस्था थियो । प्रहरीलाई जनमैत्री बनाउने अभिप्रायले प्रहरी कार्यालयलाई ‘न्यायको मन्दिर’ को रूपमा हेरिनुपर्ने अवधारणा अघि सारेर आईजीपी बरालले ‘पगोडा शैली’ का प्रहरी भवनहरूको निर्माण थालनी गर्नुभयो । यसले प्रहरीमा जनसेवाको भावना वृद्धि हुँदै गयो । प्रहरीप्रति जनआस्था जगाउने सोचले न्यायको प्रतीकका रूपमा प्रहरी भवनहरू खडा भएका थिए ।

अपर्याप्त बजेट रहेको तत्कालीन अवस्थामा जनताको चन्दाको भरमा अधिकांश थाना, चौकी र ब्यारेकलगायतका प्रहरी भवनहरू निर्माण गरिएका थिए । कालान्तरमा प्रहरी कार्यालायहरूको अनुकरण गरी अन्य सरकारी कार्यालयसमेत पगोडा शैलीमा निर्माण हुन थाले । ‘प्रहरी शासक होइन सेवक हो’ भन्ने सिद्धान्तलाई सदैव व्यवहारमा उतार्न प्रेरित गर्नुहुने उहाँका यस्तै खालका अन्य कयौँ युगानुकूल देनहरू नयाँ पुस्ताका लागि मार्गदर्शक बनेको छ ।

त्यस्तै, प्रहरीले आफ्नै तलबबाट, ऋण लिएर वा उद्धारमा पोशाकको व्यवस्था गर्नुपर्ने तत्कालीन अवस्थालाई पार लगाउन उहाँकै अग्रसरतामा २०३३ सालमा भण्डार शाखा स्थापना गरी प्रहरीको लागि नि:शुल्क पोशाकको व्यवस्था गरिएको थियो । यसरी नेपाल प्रहरीमा गाँस (रासन), वास (भवन) र कपास (पोशाक) को व्यवस्था गरिएको थियो ।

आज पनि नेपाल प्रहरीमा एउटा कहावत नै छ कि, आईजीपी बराललाई रासनको सिता, भवनको भित्ता र युनिफर्मको फित्ताले समेत सम्झिन्छ ! यसैले होला आज पनि अधिकांश पूर्व तथा बहालवाला प्रहरीहरूले उहाँलाई ‘प्रहरी पिता’ भनी सम्मान गर्छन्, ‘प्रहरीका देवता’ भनी पुज्छन्, अभूतपूर्व आईजीपी भनी सम्बोधन गर्छन् र उहाँको महिमा गाएर थाक्दैनन् ।

हालका आईजीपी ठाकुर ज्ञवाली खड्गजीत बरालसँग ।

यद्यपि केही पूर्वाग्रही व्यक्तिहरूले उहाँप्रति नकारात्मक टिप्पणी गरेको पनि सुनिन्छ । उहाँ प्रहरी प्रमुख छँदा अपराध अनुसन्धानको ‘वैज्ञानिकीकरण’ का लागि ‘प्रमाण ऐन, २०३१’, लागू औषधका दुर्व्यसनी तथा अपराधीलाई कानुनी कार्वाहीमा ल्याउन ‘लागू औषध (नियन्त्रण) ऐन, २०३३’ र नेपाल जस्तो सार्वभौम देशको सुरक्षा व्यवस्थामा रहेको ‘लुप्होल’ को फाइदा विदेशीले उठाउन नपाऊन् भनी ल्याइएको ‘अध्यागमन ऐन’ उहाँले त्यति बेलै परिकल्पना गरी तत्कालै मूर्त रूप दिनुभयो । के यी साना उपलब्धी हुन् ?

प्रहरीले आफू र आफ्नो परिवारको निःशुल्क स्वास्थ्योपचारका लागि सेनाको त्रिचन्द्र सैनिक अस्पतालमा भर पर्न नपरोस् भनी प्रहरी अस्पतालको परिकल्पना गरी त्यसको योजना अघि सार्नु के स्वावलम्बी कदम होइन ? त्यस्तै, नेपाल प्रहरीको मनोबल खस्काउने तत्कालीन दरबारको हुकुम प्रमाङ्गी (हु.प्र.) बाट हुने आफूखुसी बढुवा र नियुक्तिको अन्त्य गर्नु तथा प्रहरीमा मधेसी मूलका तराईवासीहरूको औपचारिक नियुक्ति सुरू गरी नेपाल प्रहरीलाई समावेशी बनाउने प्रयास के उहाँका साना देन हुन् ?

नेपालका अधिकांश ईतिहासकार तथा प्रहरीहरूले तत्कालीन आईजीपी बरालको कार्यकाललाई नेपाल प्रहरीको स्वर्णिम युग मानेका छन् । आईजीपी बरालसँग यति ताकत थियो कि तल्लो दर्जाका प्रहरीको मनोबल उकास्न उत्कृष्ट कार्य गर्ने प्रहरीलाई उहाँबाट तत्कालै मौखिक वचनकै भरमा बढुवाको घोषणा गरिन्थ्यो र ठाउँको ठाउँ फुली लगाइदिएर पदोन्नति हुन्थ्यो भनेर समकालीन प्रहरीहरूबाट सुनिँदै आएको छ ।

पूर्वीय नेपालमा एक प्रहरीलाई ‘अन् द स्पट’ (तत्कालै) बढुवा गरी दर्ज्यानी चिन्ह प्रदान गर्ने क्रममा तत्कालीन आईजीपी खड्गजीत बराल ।

यही सन्दर्भमा एउटा सुनिँदै आएको पुरानो घटना स्मरण हन्छ । २०३२/३३ साल तिरको कुरा हो । तत्कालीन राजा वीरेन्द्रको पूर्वाञ्चल विकास क्षेत्रको भ्रमण थियो । भ्रमणमा आईजीपी बराल, प्रधानसेनापति लगायतका अन्य उच्चपदस्थ अधिकारीहरूको पनि सहभागिता थियो । भ्रमणकै क्रममा बरालले एउटा प्रहरी हवल्दारलाई अ.स.ई. को दर्ज्यानी चिह्न प्रदान गर्नुभयो ।

धनकुटाको कालिध्वज गुल्मका मेजरले यो कुरा चाल पाएर ‘महाराजधिराजको सवारीमा यस्तो यो के गरेको ? यस्तो पनि कहीँ गर्न मिल्छ ?’ भनी कराउँदै हिँडेछन् ।

उनको यो कुरा सुनेपछि बरालले उनलाई बोलाएर सोध्नुभएछ, ‘तँ के होस् ?’

उनले सलाम गर्दै ‘म मेजर हुँ हजुर’ भनेछन् ।

बरालले उनले आफू मातहतको गुल्मको कुनै सैनिकको बढुवा गर्न सक्छन् या सक्दैनन् भनेर सोध्दा उनले ‘सक्दिनँ’ भनी जवाफ दिएछन् ।

‘तैँलै आफू मातहतको सैनिकको बढुवा गर्न सक्दैनस् भने तेरो के औकात छ ? तेरो सिपाहीले तँलाई किन टेर्छ ?’ आईजीपी बराल कड्किएछन्, ‘अनि राम्रो काम गर्ने प्रहरीलाई प्रमोशन नगरे के डिमोशन गर्ने? बढी बोल्छस् ?’

करिब तीन दशकपछि रुकमाङ्गद कटवाल नामका ती मेजर नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भए । (सो घटना आफ्नो स्मृतिमा ताजै रहेको प्रसङ्ग पूर्वप्रधानसेनापति कटवाल अहिले पनि बताउनुहुन्छ ।)

हक्की स्वाभावका साथै उच्च नैतिक चरित्र, स्वच्छ छवि र तीक्ष्ण बौद्धिक क्षमताका धनी व्यक्तित्व बराललाई नेपाली समाजमा एक दूरदर्शी तथा प्रभावशाली प्रहरी प्रमुखको रूपमा चित्रण गरिएको छ । बहादुरी र इमानका प्रतिमूर्ति उहाँले सधैँ प्रहरी, समाज र राष्ट्रको हितका लागि अग्रसर भई काम गर्नुभएको छ । ‘आफ्नोलाई भन्दा राम्रोलाई’ अवसर दिने उहाँले निष्पक्ष र प्रभावकारी रूपमा प्रहरी प्रमुखको जिम्मेवारी बहन गर्नुका साथै उहाँले सदैव उच्च कर्तव्य सम्पादन क्षमता र व्यावसायिक निष्ठा दर्शाउनुभएको समकालीन प्रहरीहरू सम्झन्छन् ।

खेलकुद, प्रहरी, पर्वतारोहण र सीमा सुरक्षामा मात्र सीमित नभएर कूटनीति र नेपाली संस्कृतिको जगेर्नामा पनि बरालको उच्च योगदान देखिन्छ । उहाँ तत्कालीन बर्मा (हाल म्यानमार) को आवासीय राजदूत छँदा उहाँले बर्मामा अधिकारविहीन शरणार्थी सरह बसिरहेका हजारौँ नेपालीहरूलाई आवश्यक परिचय पत्र दिलाउनुभएको थियो ।

साथै उहाँले नेपालबाट नेपाली शिल्पकारहरू झिकाएर नेपालीपन र धार्मिक एकताको सुदृढीकरणका निम्ति बर्मामा पशुपतिनाथ मन्दिर समेत निर्माण गर्नुभएको थियो । कठोर सैनिक शासन रहेको तत्कालीन बर्मामा नेपाली भाषाको पठनपाठन गर्ने व्यवस्था मिलाएर त्यहाँ भानुजयन्ती मनाउने परम्पराको थालनी गर्नु उहाँको देशभक्तिका प्रमाण हुन् ।

तसर्थ श्रद्धेय ऐतिहासिक व्यक्तित्व खड्गजीत बराल एक कर्मठ ईमान्दार प्रहरी अधिकृत मात्र नभई एक युगान्तकारी कूटनीतिक व्यक्तित्व पनि हुनुहुन्छ । प्रहरी पिता, हकी पिता, जुडो पिता खड्गजीत बरालमा बहुआयामिक व्यक्तित्व रहेको यथार्थ नकार्न सकिन्न । अवकाश पछि राज्यले उहाँको सीप, सल्लाह र अनुभवको सदुपयोग गर्न नसक्नु दूर्भाग्य हो ।

एकदिन म कलेजबाट घर फर्कँदै थिएँ, गेट बाहिरको घन्टीको छेउमा ‘बराल झुप्रो’ कोरिएको मार्बल देखेँ । मलाई यो कुरामा चित्त बुझेको थिएन र कहिलेकाहीँ हजुरबुबालाई ‘यो त अलिक सुहाएन कि’ पनि भन्थेँ । २०७४ सालको स्थानीय तहको चुनाव नजिकिँदै थियो ।

सो क्रममा मैले नेपाल आमालाई नजिकबाट चिन्न सकूँ र परिश्रमको पाठ सिकूँ भनेर हजुरबुबाले मलाई म्यादी प्रहरी (अस्थायी प्रहरी) मा आवेदन दिन सल्लाह दिनुभयो । जब म म्यादी प्रहरीको रूपमा खटिएँ, तब बल्ल मैले यो कुराको आभास पाएँ कि गलत काम गरेर ठड्याएको महल भन्दा असल काम गरेर जोडेको झुप्रो नै बेस हुन्छ । सम्भवत: काठमाडौँका अन्य अधिकांश घरहरूको तुलनामा हाम्रो निवास झुप्रो नै हो । हालसम्म बराल झुप्रो कोरिएको त्यो मार्बल यथावत नै छ ।

संयोगवश म म्यादी प्रहरी छँदा उहाँले नेपाल प्रहरीमा व्यवस्था गर्नुभएको तीन वटै आधारहरू नाना, खाना र छाना उपभोग गर्ने अवसर पाएँ । बाल्यवस्था देखिनै पारिवारिक संस्कार र नैतिक ज्ञानको शिक्षा मैले हजुरबुबाबाटै प्राप्त गरेँ । मलाई गर्व छ कि म उहाँको नातिको रूपमा यस धर्तीमा पाउ राख्ने गर्ने सुअवसर पाएँ ।

अहिले उहाँ अस्वस्थ्य भएर अस्पतालमा उपचाररत हुनुहुन्छ । यो खबरले हाम्रो परिवार मात्र नभएर सिंगो नेपाल प्रहरी संगठन र देश विदेशमा छरिएर रहनुभएका पूर्व प्रहरीहरू समेत चिन्तित हुनुहुन्छ । किनभने उहाँ बराल परिवारको मात्र नभएर समस्त नेपाल प्रहरीको अभिभावक र प्रेरणाको श्रोत हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

Related Articles

Back to top button
Close