News

कोरोना जितेका स्वास्थ्यकर्मी भन्छन्, ‘काम गर्दागर्दै संक्रमित हुन पुगे तर बदलामा घृणा पाएँ

कैलाली—कोरोनालाई जितेका कञ्चनपुरको पुनर्वासका स्वास्थ्यकर्मी जनकसिंह धामीले कोरोना संक्रमितहरु रोगभन्दा पनि सामाजिक दुर्व्यवहारले पीडित भएको बताएका छन् । स्वास्थ्यकर्मी धामीले कोरोनालाई जित्न सजिलो भएको तर मान्छेको गलत सोचलाई परास्त गर्न नसकेको बताए । आफ्नो अनुभव बाँडदै धामीले भने, ‘हिजोसम्म जतापनि मेरो आवश्यकता पर्ने तर संक्रमित भएको खबर थाहा हुने बित्तिकै धामीले बर्बाद बनायो भनेर कुरा काटेर घृणा फैलाउनेहरु कोरोना भाइरसभन्दा पनि खतरा हुन् ।’ आफूले कोरोना परास्त गरेपनि यस्तो गलत सोचहरुलाई परास्त नसकेकोमा दुखेसो व्यक्त गरे । कोरोनाको पीडाले भन्दा पनि मान्छेहरुबाट पाएको घृणाले आफू निकै तनावग्रस्त भएको धामीको गुनासो छ । ‘आफू जोखिममा रहेर आफ्नो र परिवारको जीउज्यानको परवाह नगरी काम गर्दागर्दै संक्रमित हुन पुगे तर बदलामा घृणा पाएँ ।’ आफ्नै पहलमा १५ जनाको पिसिआर चेक भएको र त्यसमा आफ्नो रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसन गएको बताउँदै स्वास्थ्यकर्मी धामीले यदि आफूले पिसिआरको पहल नगरेको भए पुनर्वास ठूलो जोखिममा पर्ने बताए । पुनर्वास नगरपालिका—९ स्थित परासन स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी धामी कोरोना जितेर सोमबार बेलुकी घर फर्केका हुन् । उनको गत जेठ २१ गतेको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा १४ दिन बिताएका धामीको तीन वटा परीक्षण नेगेटिभ आएपछि उनी डिस्चार्ज भएका हुन् । आफूलाई कोरोना पोजेटिभ भएको थाहा पाउँदा सुरुमा निकै डराएको स्मरण गर्दै उनले आफूमा सामान्य टन्सिलको समस्याबाहेक केही लक्षण नदेखिएको बताए । विदेशतिरको मृत्यु खबरले आफूलाई तनाव दिएपनि शुभेच्छुकहरुको माया, आशीर्वाद तथा स्वास्थ्यकर्मी साथीहरुको रेखदेख र हेरविचारले आफूले कोरोना भाइरसलाई जितेको धामीको भनाइ छ । कोरोना संक्रमणको जोखिम कम भइनसकेकाले सबैलाई होसियारी अपनाउन उनले आग्रह गरे । स्वास्थ्यकर्मीहरु संक्रमित हुनुको मुख्य कारण व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) अभाव भएको बताउँदै सम्बन्धित निकायको यसतर्फ ध्यान जानु आवश्यक रहेको उनको भनाइ छ ।
थप पढनुहोस: https://www.healthaawaj.com/news/18784/?fbclid=IwAR3IgXGPg9qMp4Y5dNpADHVfO82Sokixse3b1IkqYDGoqTfOujlV-uZuoQ0
Find us on Twitter: @healthaawaj | Facebook: HealthAawajOfficial

Related Articles

Back to top button
Close