Entertainment

२८ वर्षीया अनिषाले उक्त रकमबाट काठमाडौंको पानी समस्या समाधानमा काम गर्ने निधो गरिन्।

अनिषा महर्जनको निम्ति काठमाडौंको खानेपानी समस्या कुनै नौलो कुरो होइन। यो त उनले सानैदेखि देख्दै-भोग्दै आएको समस्या।

त्यही भएर वातावरण विज्ञानमा स्नातकोत्तर गर्दा अनिषाले बर्खाको पानी व्यवस्थापनबारे ‘थेसिस’ गरिन्। यही विषयलाई लिएर ‘डोपर चेन्जमेकर च्यालेन्ज’ मा भाग लिइन् र विजेता भइन्।

विजेता भएबापत् दुई लाख रूपैयाँ उनको हात पर्‍यो।

२८ वर्षीया अनिषाले उक्त रकमबाट काठमाडौंको पानी समस्या समाधानमा काम गर्ने निधो गरिन्। त्यसैबाट सुरू भयो, उनको ‘रिचार्ज इनार’ योजना।

आकाशे पानी खेर फाल्नुको साटो ‘रिचार्ज इनार’ बनाएर जमिनमुनि पठाउनु यो योजनाको उद्देश्य हो। काठमाडौंमा चुलिँदो पानी अभाव र बर्खामा सडक–ढल जम्ने समस्या कम गर्न उनी यसलाई राम्रो विकल्प मान्छिन्।

अनिषाले गत डिसेम्बर अन्त्यसम्म पाटन, सुन्धारामा १० वटा रिचार्ज इनार बनाइसकिन्। हाल ‘पुनर्भरण’ नाम दिइएको यो प्रोजेक्टलाई उनी व्यवसायका रूपमा अघि बढाउने तयारी गर्दै थिइन्, त्यही बेला कोरोना लकडाउन भयो।

‘अहिले बर्खाको समय छ। आकाशे पानी बाटोमा खेर गइरहेको हुन्छ, कति ढलसँग मिसिएर खोलामा जान्छ। त्यो भनेको हामीले प्रयोग गर्न सक्ने पानी खेर गएको हो,’ अनिषाले सेतोपाटीसँग भनिन्, ‘हामीले त्यो पानी रिचार्ज गर्न सके सुख्खा महिनामा हुने अभाव कम हुन सक्थ्यो।’

रिचार्ज इनार बनाउनु भनेको आकाशे पानीलाई पाइपबाट इनारमा खसाल्नु हो। यसमा छत वा कौसीबाट बग्ने पानी पनि पाइपबाट सिधै इनारमा पठाउन सकिन्छ।

यस्तो इनार बनाउन सिमेन्टका रिङ र फिल्टर भए पुग्छ। बर्खाको पानीलाई गिट्टी, बालुवा लगायत प्रयोग गरेर प्राकृतिक प्रशोधन गरी जमिनमुनि पठाइन्छ। जमिनमा पानी जम्न थालेपछि एकाध वर्षमा आसपासका इनार र ढुंगेधारा रसाउन थाल्छन्।

यो हामीले देख्दै आएको परम्परागत इनारभन्दा अलि फरक हुन्छ। परम्परागत इनारबाट पानी निकालिन्छ भने रिचार्ज इनारबाट पानी पुनर्भरण गरिन्छ।

‘यो इनारको काम परम्परागतको भन्दा ठ्याक्कै उल्टो हुन्छ। पुरानोलाई नै प्रयोग गर्नेभन्दा अलग्गै इनार खन्नुपर्छ। बर्खाको पानी इनारमा गएपछि जमिनले विस्तारै सोसेर लिन्छ,’ उपत्यकाको परम्परागत पानी व्यवस्थापन प्रणालीका अनुसन्धानकर्ता तथा इन्जिनियर पद्यसुन्दर जोशीले भने, ‘रिचार्ज भइसकेपछि जमिनमा पानीको तह बढ्छ। वरिपरिको इनार, ढुंगेधारामा विस्तारै पानी पुग्छ।’

पाटन, सुन्धारामा अनिषा महर्जनले बनाउँदै गरेका रिचार्ज इनार। तस्बिर स्रोतः अनिषा
परम्परागत पोखरीले पनि त्यस्तै काम गर्छन्। बर्खाको पानी पोखरीमा जम्मा हुन्छ र नजिकैका इनार, ढुंगेधारा रसाउँछन्।

‘हामीले गर्न खोजेको कुरा नयाँ होइन। पानी पुनर्भरण गर्ने, सञ्चित गर्ने चलन त लिच्छविकालदेखि नै छ। बढ्दो आधुनिकीकरणले यो परम्परा बिग्रिन थालेको हो। त्यसलाई हामीले ब्युँताउन मात्र खोजेको हो,’ अनिषाले भनिन्।

उपत्यकाको पानी आपूर्ति प्रणालीमा तीन राजकुलो प्रमुख छन्। काठमाडौंमा बुढानिलकण्ठबाट आउँछ, भक्तपुरमा बागेश्वरीबाट र पाटनमा टीकाभैरवबाट। ती राजकुलोबाटै पोखरीहरू भरिन्छन् र पोखरी भरिएपछि ढुंगेधारा रसाउँछन्। सरकारी लापरवाहीका कारण सडक विस्तार क्रममा राजकुलोहरू मासिएका छन्।

‘यी राजकुलोलाई पुरानै अवस्थामा फर्काउन गाह्रो छ। धेरै रिचार्ज इनारहरू बनाउने हो भने राजकुलोको केही हदसम्म भरपाई हुन्छ सक्छ,’ अनिषाले भनिन्, ‘हामीले हिति, पोखरी भएका बेला दिगो रूपमा पानी प्रयोग गरिरहेका थियौं। रिचार्ज इनारले नजिकैका ढुंगेधारा, इनार रसाउने भएकाले यसबाट केही योगदान पुग्ने विश्वास छ।’

अनिषाले १० वटा रिचार्ज इनार बनाएको सुन्धारामा करिब ६० जना बस्छन्। उनको अध्ययनअनुसार त्यहाँका मान्छेले वर्षमा करिब १ लाख ६० हजार रूपैयाँ पानीमै खर्चेका रहेछन्। त्यसको सट्टा एकपटक रिचार्ज इनार बनाउँदा दीर्घकालीन हुन्छ। रिचार्ज इनार बनेपछि पानीको सतह बढ्ने र आर्थिक हिसाबमा पनि फाइदा पुग्नेमा उनी आशावादी छन्।

‘पाटनमा रिचार्ज इनार बनाउँदा हामीले नजिकैका श्रोतमा पानीको स्तर नापेका थियौं। त्यो बेला जम्मा दुई फिट भेट्टायौं। अहिले पानी परेका बेला दस फिटसम्म बढेको छ,’ उनले भनिन्, ‘पछिसम्मको अवस्था कस्तो हुन्छ अध्ययन गर्नुपर्छ।’

रिचार्ज इनार एउटा ठाउँमा मात्र नभएर वरिपरिका ठाउँमा पनि बनाउँदा राम्रो हुन्छ। त्यसले जमिनमा पानीको बहाव बढी हुनाले वरपरका पानीका श्रोतहरू चाँडै रसाउँछन्।

एउटा इनार बनाउन कति फिट खन्ने?

यो कुरा भने इनार खनिने ठाउँमै गएर त्यहाँको माटो, भौगोलिक बनोट अध्ययन गरेपछि मात्रै थाहा हुने अनिषा बताउँछिन्।

अनुसन्धानकर्ता तथा इन्जिनियर जोशीका अनुसार रिचार्ज इनार बनाउँदा त्यहाँको माटो पानी सोस्ने गरी खुकुलो हुनुपर्छ। विशेषगरी काठमाडौं उपत्यकाको माटोमा कालिमाटी बढी पाइन्छ। यो माटो एकदमै लस्याइलो हुने भएकाले पानी सोस्दैन। यस्तो ठाउँमा केही गहिरो खन्नुपर्छ। बलौटे माटो भएकामा भने धेरै गहिरो नगए पनि हुन्छ।

‘सामान्यतया ८ देखि १० फिट खने पुग्छ,’ जोशीले भने, ‘इनार खन्दा आफ्नो घरको जगभन्दा तीनदेखि चार फिट टाढा बनाउनुपर्छ। नजिकै बनाउँदा जगमा असर गर्न सक्छ।’

जोशीका अनुसार यो इनारको काम पानी रिचार्ज गर्ने हो। हामीसँग धेरै खेत हुँदा भएभरका पानी खेतबाटै रिचार्ज हुन्थे। अहिले सबैले घर बनाएपछि त्यो ठाउँका पानी रिचार्ज अलिकति पनि नहुने भयो। त्यसैले जति धेरै रिचार्ज इनार भयो त्यति धेरै पानीको सतह बढ्ने जोशी बताउँछन्। यस्ता इनार घर-घरमा पनि बनाउन सकिन्छ।

घरमा थोरै जग्गा भए कहाँ बनाउने?

‘दुई–तीन आनामा घर बनाउनेकोमा पानी ट्यांकी राख्ने ठाउँ हुँदैन तर पनि ट्यांकी राख्छ। पानी ट्यांकी राख्न सकिन्छ भने रिचार्ज इनार बनाउन नसकिने होइन,’ जोशीले भने, ‘जग्गा सानो छ भनेर बनाउन सकिन्न भन्ने हो भने त्यो ठाउँ घर बनाउन पनि उपयुक्त छैन। जहाँ रिचार्ज इनार बनाउने ठाउँ पनि छैन भने कहाँ घर बनाउनु भयो त?’

हामीले डिप बोरिङबाट दुई-तीन सय मिटर तल पुगेर पानी निकालिरहेका छौं। त्यो पानी भनेको ८०–९० वर्षअगाडि बगेको पानी हो जसलाई हामी फोसिल पानी भन्छौं। पानी अधिक दोहन भयो भने सहर भासिने जोखिम हुन्छ। दिल्ली, बैंकक, जकार्ता, मेक्सिको, चेन्नई लगायत ठाउँमा डिप बोरिङका कारण समस्या आइरहेको छ।

‘रिचार्जको पानीले त्यो समस्या समाधान गर्दैन। तर १०-२० फिट खनेर स्यालो बोरिङ गरेको छ भने रिचार्ज इनार बनाउँदा हामीले वातावरणीय हिसाबमा न्याय गर्छौं। त्यस क्रममा हामीले पानी लिने मात्र होइन, रिचार्ज गरेर दिने पनि भयौं,’ जोशीले भने।

अनिषाका अनुसार पाटनमा १० वटा इनार बनाउन उनले प्रोजेक्टमार्फत् करिब १ लाख २० हजार खर्च गरेकी थिइन्। ठाउँको प्रकृतिअनुसार इनार खन्नुपर्ने भएकाले एउटा इनार बनाउन यति नै लाग्छ भनेर यकिन छैन।

डोपर च्यालेन्जमा विजेता भएपछि अनिषालाई ‘ग्लोबल पिस फाउन्डेसन’ बाट युवा उद्यमी च्यालेन्ज- २०२० मा सहभागी हुने निमन्त्रणा आयो। अहिले उनी त्यसैको शीर्ष १५ औं स्थानमा छन्। युवा उद्यमीले अनिषाजस्तै उद्यम गर्न चाहनेलाई ‘प्लेटफर्म’ दिन्छ। यो प्रतियोगीताका विजयीले व्यवसाय सुरू गर्न १ लाख रुपैयाँ पनि पाउँछ।

अनिषा, एक जना वातावरण इन्जिनियर र एमबिए गरिरहेका साथी मिलेर यो प्रोजेक्ट व्यावसायिकीकरण गर्ने तयारीमा छन्। कोरोना महामारी नहुँदो हो त उद्यमी च्यालेन्जको नतिजा आइसकेर उनको उद्यम सुरू भइसकेको हुन्थ्यो।

हाल अनलाइन बुट क्याम्प र व्यावसायिक मोडलमा कसरी जान सकिन्छ भनेर तालिम लिइरहेकी छन्। लकडाउन सकिएपछि पहिलेको कामको नतिजाका आधारमा व्यवसाय सुरू गर्ने उनी बताउँछिन्।

सरकारले पनि प्रत्येक घरले पानी रिचार्ज गर्नुपर्छ भन्ने नियम बनाइरहेको छ। उनी सरकारसँगै सहकार्य गर्दै काम गर्ने तयारीमा छिन्। नयाँ घर बनाउने बेला नक्सामै रिचार्ज इनार बनाउन सक्यो भने दिगो रूपमै लग्न सकिन्छ।

‘पानी अभाव अहिलेको समय ठूलो समस्या हो। अहिलेको पुस्तालाई पानी छैन भने ट्यांकर आइहाल्छ नि भन्ने हुन्छ। मान्छेले दिगो रूपमा पानी जोगाउनुपर्छ भनेर सोच्दैनन्,’ उनले भनिन्, ‘हामीले रिचार्ज इनार बनाउने हो भने प्रकृतिबाट पानी लिइरहेको मात्र होइन, दिइरहेका पनि हुन्छौं। जसले गर्दा वातावरण सन्तुलन हुन्छ।’

Related Articles

Back to top button
Close