News

कोरोना ओरालो लाग्ने संकेत

कोरोना भाइरसको महामारी सुरु भएयता पहिलो पल्ट सोमबार चीनमा कसैको मृत्यु भएन। जनवरीको अन्तिमदेखि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना प्रभावितबारे दैनिक जानकारी दिँदै आएको छ।

सोमबार चीनमा ३२ नयाँ संक्रमित फेला परे। तर, ती सबै आयातीत हुन्। हालसम्म चीनमा कोरोना संक्रमितको जम्मा संख्या ८१ हजार ७ सय ४० पुगेको छ भने ३ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ।

सुरुमा स्थानीय अधिकारीले सूचना लुकाउँदा चीनको हुबेई प्रान्तमा भाइरस फैलिने मौका पाएको थियो। तर, महामारी फैलिनेबित्तिकै लागू गरिएको कडा लकडाउन, सोसल डिस्ट्यान्सिङ, व्यापक जनशक्ति परिचालन, अस्थायी अस्पताल स्थापना र हजारौँको उपचारपछि एउटा आशाको किरण देखिएको छ– व्यवस्थित रोकथामका उपाय गरे महामारी रोक्न सकिन्छ। मृत्यु शून्यमा झार्न सकिन्छ। स्थानीय संक्रमण शून्यमा झार्न सकिन्छ।

युरोपमा आशाको किरण

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र युरोपमा पनि आशाको किरण देख्न सकिन्छ। कोरोनाले हजारौँको ज्यान लिएको इटाली, स्पेन र फ्रान्समा लकडाउनको तेस्रो सातापछि बल्ल त्यसको असर देखिन थालेको छ। मृत्युदरमा कमी आउन थालेको छ।

सोमबार इटालीमा ६ सय ३६ जनाको मृत्यु भयो। यो अघिल्लो दिनको भन्दा एक सयले बढी भए पनि समग्रमा केही दिनयता मृतक संख्या ओरालो लागेको देखिन्छ। नयाँ संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा सोमबार १ हजार ३१ ले घटेको छ। इटलीमा सबैभन्दा बढी प्रभावित क्षेत्र हो, लोम्बार्डी। त्यहाँ केही दिनअघिसम्म आईसीयूको अभावमा बिरामीलाई हेलिकोप्टरमार्फत अन्यत्र लगेर उपचार गरिँदै आएको थियो। नयाँ संक्रमितको संख्या घट्दै जाँदा स्वास्थ्य सेवा प्रणालीमाथि त्यस्तो दबाब कम हुँदै गएको छ। केही दिनयता आईसीयू अभावमा बिरामीलाई अन्यत्र लैजानुपरेको छैन।

कोरोना भाइरसका कारण सबैभन्दा बढीले ज्यान गुमाएको मुलुक हो, इटाली। यहाँ १६ हजार ५ सयको मृत्यु भइसकेको छ भने १ लाख ३२ हजार बढी संक्रमित भएका छन्। इटालीले युरोपमै सबैभन्दा पहिले मार्च १० मा लकडाउन घोषणा गरेको थियो।

त्यस्तै, स्पेनमा चार दिनदेखि लगातार मृत्यु हुनेको संख्या घटिरहेको छ। संक्रमितको संख्याको हिसाबले विश्वकै दोस्रो प्रभावित र युरोपमा सबैभन्दा बढी प्रभावित मुलुक हो, स्पेन। यहाँ १ लाख ३६ हजार जना संक्रमित भएका छन्। मृतक संख्याका हिसाबले भने इटालीपछि दोस्रो स्थानमा रहेको स्पेनमा १३ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। सोमबार स्पेनमा ४ हजार २ सय नयाँ संक्रमित फेला परे भने ६ सय ३७ जनाको मृत्यु भयो। यो दुई सातायताकै सबैभन्दा कम संख्या हो। स्पेनको आपत्कालीन स्वास्थ्य समितिकी उपप्रमुख मरिया होसे सियराले मुलुकको हरेक क्षेत्रमा महामारीको वृद्धिदरमा कमी आएकी बताएकी छन्। सरकारले लक्षण नदेखिएकाहरूको पनि परीक्षण गर्ने योजना बनाएको छ। स्पेनले मार्च १४ मा लकडाउन घोषणा गरेको थियो।

युरोपको अर्को प्रभावित मुलुक हो, फ्रान्स। संक्रमितको संख्याको हिसाबले फ्रान्सभन्दा जर्मनी अगाडि छ। जर्मनीमा १ लाख ३ हजार संक्रमित भएका छन् भने फ्रान्समा ९८ हजार। तर, जर्मनीको मृत्युदर अत्यन्त कम छ भने फ्रान्समा निकै उच्च। हालसम्म जर्मनीमा १ हजार ८ सयले ज्यान गुमाएका छन्। फ्रान्समा भने करिब नौ हजारको मृत्यु भइसकेको छ।

दुर्दशा भोग्दै अमेरिका

इटालीभन्दा अमेरिकामा कोरोना संक्रमितको संख्या दोब्बरभन्दा बढी छ। सोमबारसम्ममा ३ लाख ७० हजार अमेरिकी संक्रमित भइसकेका छन्। यो संख्याले केही दिनमै पाँच लाख नाघ्ने देखिएको छ। अमेरिकामा भाइरसबाट ज्यान गुमाउनेको संख्या ११ हजार पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार सोमबार मात्रै १ हजार ३ सय ४३ जनाको ज्यान गएको छ। एकै दिन ३० हजारभन्दा बढी संक्रमित फेला परेका छन्। अमेरिकाको एउटा मात्र राज्य वायोमिङमा हालसम्म कोरोनाबाट कसैको ज्यान गएको छैन।

यतिबेला अमेरिका इतिहासकै सबैभन्दा ठूलो दुर्दशा भोगिरहेको छ। दशौँ हजार मानिस उपचारको पर्खाइमा छन्। अस्पतालहरू खचाखच भरिएका छन्। लाशको थुप्रो लागेको छ। स्वास्थ्य सामग्रीको चरम अभाव छ। तर, यस्तो समस्या समाधान गर्ने स्पष्ट योजना नेतृत्वसँग छैन।

अधिकारीहरूले आगामी साता अमेरिकाका लागि झनै कठिन हुने चेतावनी दिएका छन्। अमेरिकाका उच्च पदस्थ चिकित्सक सर्जन जर्नल जेरोम एडम्सले अहिलेको क्षणलाई पर्ल हार्बर र सेप्टेम्बर ११ को आक्रमणसँग तुलना गरेका छन्। तर, ती दुई घटनालाई कयौँ गुणाले पछि पार्ने गरी महामारीले मानवीय र आर्थिक क्षति गर्नेछ।

सीआईएको असन्तुष्टि

कोरोना भाइरस महामारीबारे अनेकाँै षड्यन्त्रका सिद्धान्त चर्चामा छन्। पछिल्लो समय अमेरिकी गुप्तचर संस्था सीआईएले समेत चीनमा भाइरसका कारण मृत्यु हुनेको संख्या सरकारले लुकाएको बताउँदै आएको छ। सीआईले फेब्रुअरीदेखि नै मर्नेहरूको संख्या चीनले भनेभन्दा धेरै बढी रहेको ट्रम्प प्रशासनका अधिकारीलाई ब्रिफिङ गरिरहेको सञ्चारमाध्यमले बताएका छन्।

भाइरसले अमेरिका र युरोपमा निम्त्याएको दुर्दशालाई हेरेर चीनमा मर्नेहरूको संख्या त्यति कम हुनै नसक्ने निष्कर्षमा सीआईएका अधिकारी पुगेका हुन्। तर, सीआईएले चीनमा यति नै संख्यामा मानिस मरेका हुन सक्छन् भनेर कुनै संख्या दिन सकेको छैन। त्यसमाथि भाइरसको भाष्यलाई लिएर दुई महाशक्तिबीच महामारीको सुरुदेखि नै आरोप–प्रत्यारोप चल्दै आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनालाई ‘चिनियाँ भाइरस’ भन्न थालेदेखि दुई मुलुकबीच तिक्तता बढेको थियो। त्यसको जवाफमा चिनियाँ अधिकारीहरूले भाइरस अमेरिकामा उत्पन्न भएको हुन सक्ने दाबी गरेका थिए। अन्ततः गत साता ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन संवाद भएपछि ट्रम्पले आफ्नो बोलीमा लगाम लगाएका छन्।

अमेरिकामै छैन मृतकको सही तथ्यांक

क्यालिफोर्नियाको सान ग्याब्रियलमा बस्ने ४३ वर्षीय सेल्सम्यान जुलियो रामिरेज गत महिना एक व्यावसायिक यात्रापछि घर फर्के। भोलिपल्टदेखि नै उनलाई ज्वरो, खोकी, जीउ दुख्नेजस्ता समस्या देखिए।

केही दिनपछि उनकी पत्नी जुली मुरिलोले उनलाई ह्विलचेयरमा राखेर क्लिनिक पु¥याइन्। डाक्टरहरूले उनलाई एन्टिबायोटिक र खोकीको झोल औषधि लेखिदिए। उनको कोरोना भाइरस परीक्षण गरिएन। केही दिनभित्रै उनको घरमै मृत्यु भयो।

‘सुरुदेखि नै मैले उनको कोरोना परीक्षण गराउने प्रयास गरिरहेँ,’ मुरिलो भन्छिन्, ‘तर, उनीहरूले मान्दै मानेनन्।’

त्यसपछि एक निजी कम्पनीलाई शुल्क तिरेर मुरिलोले पतिको पोस्टमार्टम गर्न लगाइन्। जसले उनको कोरोना परीक्षण पनि गरायो। अन्ततः मृत्युको १९ दिनपछि रिपोर्ट आयो, रामिरेजलाई कोरोना भाइरस थियो।

यसरी सयौँको संख्यामा मृत्यु भएका मानिसको तथ्यांक नरहेको र अहिले सरकारले जारी गरेको तथ्यांक दुरुस्त नभएको रिपोर्ट ‘न्युयोर्क टाइम्स’ले प्रकाशन गरेको छ। खासमा टेस्टिङ किटको चरम अभावका कारण वास्तविक मृतक संख्या अझ उच्च रहेको अनुमान गर्न सकिन्छ। ब उबतअजधयचप या मभअष्कष्यल

छिट्टै बन्नेछैन खोप

कोरोनाको महामारी रोक्न अनेक मुलुकले अनेक प्रयास गरिरहेका छन्। ती प्रयास त्यसबेला मात्रै सार्थक हुनेछन्, जब यसको खोप तयार हुनेछ। तर, कुनै पनि रोगको खोप बनाउन सजिलो छैन। यसका लागि लामो समय लाग्ने गर्छ।

हाल विश्वका ७० भन्दा बढी देशका दर्जनौँ कम्पनीले कोरोनाविरुद्धको खोप बनाउन अनुसन्धान गरिरहेका छन्।

अमेरिकामा त मोडर्न थेराप्युटिक्स नामक कम्पनीले केही साताअघि नै मानिसमा समेत यो खोपको परीक्षण गरिसकेको छ। चिनियाँ वैज्ञानिकहरूले कोभिड–१९ को कारक भाइरस सार्स–कोभ–२ को जिनेटिक कोड तयार गरिसकेका कारण जनवरीको मध्यदेखि नै विश्वका वैज्ञानिकहरू खोप विकासमा लागेका थिए। त्यसमाथि हालैका दुई महामारी पनि कोरोना भाइरसकै कारण भएका थिए– सार्स र मर्स। सार्सको कारक भाइरस कोरोना भाइरससँग करिब ९० प्रतिशत मिल्न जान्छ। तर, यो भाइरसको खोप तयार हुन अझै लामो समय लाग्न सक्नेछ।

हरेक नयाँ औषधिझैँ उत्पादकले यो खोप सुरक्षित छ र यसले काम गर्छ भनेर पुष्टि गरेर देखाउनुपर्छ। त्यसपछि मात्रै यसको उत्पादन सुरु हुन्छ। यसका लागि करिब डेढ वर्षको अवधि चाहिने विज्ञहरूको अनुमान छ।

कुनै पनि खोप मानिसमा परीक्षण गर्दा स्वास्थ मानिसलाई खोपको सानो मात्रा दिइन्छ। यसमा उनीहरू दुई वटा पक्षमा ध्यान दिन्छन्– खोप लिएका व्यक्तिको प्रतिरक्षा प्रणालीले चाहेजस्तै एन्टिबडी उत्पादन गर्नुपर्छ र त्यसको कुनै साइड इफेक्ट देखिनु हुँदैन। त्यसका लागि ४२ दिन कुर्नुपर्छ। त्यो अवधिमा सबै ठिक रहे पुनः पहिलेभन्दा धेरै मानिसलाई अझ बढी मात्रामा खोप लगाइन्छ। त्यसपछि फेरि ४२ दिन पर्खिइन्छ। तर, कोरोनाको खोप त्यसरी परीक्षण गर्न सम्भव नहुने वैज्ञानिकहरू बताउँछन्। किनभने, केही बिरामीमा यसको अत्यन्त गम्भीर असर पर्न सक्छ। त्यसैले अझ बढी समय लाग्न सक्छ।

खोप तयार भइसकेपछि पनि त्यसको वितरण रणनीति तयार गर्न केही समय लाग्नेछ। तसर्थ, खोप विकास हुनुअघि नै कोरोना भाइरसको महामारी नियन्त्रणमा आइसक्ने धेरैको अनुमान छ।

Related Articles

Back to top button
Close