News

तीन दाजुभाई मिलेर छिमेकीमाथि छुरा प्रहार, अवस्था गम्भीर

विराटनगर : विराटनगर महानगरपालिका–५ कोचाखालमा एउटै परिवारका तीन जना दाजुभाईले छिमेकी युवामाथि शुक्रबारराति छुरा प्रहार गरेका छन् । दाजुभाई मिलेर गरिएको छुरा प्रहारबाट ३३ वर्षीय सन्तोश कामत गम्भीर घाइते भएका छन् ।

पेट र देव्रे हातमा गहिरो चोट लागेका कामतको विराट नर्सिङ होममा उपचार भइरहेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी बेदप्रसाद गौतमले बताए । उनकाअनुसार पेटमा मात्रै १५ इन्च लामो र गहिरो चोट छ । उपचारमा संलग्न चिकित्सकलाई उद्दृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार घाइतेको अवस्था गम्भीर छ ।

कामतमाथि छिमेकीहरु १९ वर्षीय सुरज, २८ वर्षीय गोविन र ३८ वर्षीय लालबाबु राय मिलेर राति १० बजे छुरा प्रहार गरेको डीएसपी गौतमले बताए । तीनै जना एउटै घरका दाजुभाई हुन् । सुरुमा सुरजले छुरा प्रहार गरेको र दाजुहरुले उनलाई सघाएको प्रहरीले जनाएको छ । छुरा प्रहारपछि फरार रहेका तीनै जनालाई शनिबार बिहान प्रहरीले विराटनगरकै विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

स्थानीय बासिन्दाकाअनुसार लगातारको वर्षाले विराटनगरको कोचाखाल क्षेत्र डुबानमा पर्ने अवस्था आएको थियो । वस्ती डुबानमा पर्न लागेको खवरसँगै महानगरपालिका कार्यालयले जाम भएको नाला खुलाउन डोजर पठाएको थियो । डोजरले जाम भएको नाला खुलाउने क्रममा राय परिवारको घर अगाडि खन्न थालेपछि विवाद सुरु भएको पाइएको प्रहरीले जनाएको छ ।

डोजर बोलाएर आफ्नो घर अगाडि खन्न लगाएको भन्दै तीन दाजुभाई मिलेर कामतमाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी गौतमले बताए । उनीहरुले सुतिरहेका बेला कामतको घरमै पुगेर छुरा हानेका हुन् । तत्काल डोजरका कारण घटना भएको देखिए पनि घरमा सुतिरहेका व्यक्तिमाथि छुरा प्रहार हुनुमा पुरानो कुनै रिसिईबी समेत जोडिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

Related Articles

Back to top button
Close