News

बागलुङमा समुदायस्तरमा देखियो कोरोना, क्‍वारेन्टाइनमा बसेकालाई खाना खुवाउने र सुरक्षाकर्मीमा संक्रमण पुष्टि

बागलुङ : जिल्लामा पहिलो पटक समुदायस्तरमा कोरोना संक्रमण देखिएको छ। जिल्लाको काठेखोला गाउँपालिकाको अमर मावि क्‍वारेन्टाइनमा खाना पुर्‍याउने दुईजना र एक प्रहरीमा कोरोना संक्रमण पोजिटिभ देखिएको हो ।

जिल्लामा शनिबार एकै दिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस क्रममै भारतबाट आएर क्‍वारेन्टाइनमा बसेकालाई दैनिक खाना पुर्‍याउने एक महिला, उनलाई सहयोग गर्ने एक पुरुष र क्‍वारेन्टाइनको सुरक्षामा खटिएका प्रहरीको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

‘गाउँपालिकाको क्‍वारेन्टाइनमा खाना खुवाउने दुई र अर्का एक सुरक्षामा खटिएकाको रिपोर्ट पोजिटिभ आएको खबर आएको छ,’ काठेखोलाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले भने, ‘यो कसरी भयो ? यसका बारेमा हामी बुझ्ने क्रममै छौं।’

अमर मावि क्‍वारेन्टाइनमा बस्दै आएका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका खाना खुवाउने महिला परिवारसँगै बस्दै आएका छन् ।  क्‍वारेन्टाइनमाम लापरवाहीका कारण कोरोना संक्रमण समुदायस्तरमा फैलिएको हुनसक्ने स्वाथ्यकर्मी बताउँछन् । ‘यो क्‍वारेन्टाइनमा बस्नेमा केही स्वभावजन्य समस्या देखिएको थियो, स्वास्थ्यकर्मी जाँदा पनि कोठाभित्रै तान्न खोज्ने प्रवृत्ति देखिन्थ्यो, काठेखोला गाउँपालिका स्वास्थ्य शाखाका सोमराज पाण्डेले भने, ‘अहिले संक्रमण देखिएकामा खाना खुवाउने र सुरक्षाकर्मीले पनि हामीले दिएका स्वास्थ्य सुरक्षा सामग्री प्रयोगमा लापरबाही या बेवास्ता भएको हुनसक्छ । त्यो भन्दा बढी क्‍वारेन्टाइनमै बस्नेहरुको लापरवाहीका कारण समुदायस्तरमा संक्रमण फैलिएको भन्ने छ ।’ अब कन्ट्याक्ट ट्रेसिङ गरेर समुदायमा थप फैलिन नदिन स्वाब संकलन र परीक्षणलाई तीव्र बनाउने गाउँपालिकाको तयारी छ ।

Related Articles

Back to top button
Close