News

प्रदेश ५ का सात जिल्लामा पुग्यो सलह

बुटवल : भारतबाट आएको सलहको बथान प्रदेश ५ का सातवटा जिल्लामा पुगेको छ । शनिबार रुपन्देही र पाल्पामा मात्रै देखिएको सलह फट्यांग्रा अन्य जिल्लामा पनि फैलिएको हो ।

प्रदेशको रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाची, गुल्मी, दाङ र नवलपरासीमा सलह देखिएको प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयत अन्तर्गतको कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले सहल छवटै जिल्लामा फैलिए पनि धेरै क्षति नभएको बताए । ‘ठूला रुखहरु सिख्रै गराएको देखियो, तर बालीमा त्यति धेरै नबसेकाले क्षति भएको छैन’, उनले भने । कृषि ज्ञान केन्द्रका कर्मचारीहरु सलह बसेको स्थानको निरीक्षणकै क्रममा रहेको उनले बताए ।

आइतबारदेखि कपिलवस्तुमा अत्याधिक संख्यामा सलह देखिएको छ । कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिकाको धनकौलीमा तरकारी र फलफूलमा क्षति गरेको किसानहरुले बताएका छन् । धनकौलीमा तरकारी, आपका बोटहरु नोक्सान गरेको किसानको भनाइ छ । ‘छपक्कै छोपिने गरी सलह बसेका छन्, उडिरहेका पनि उत्तिकै छन’, स्थानीय रामप्रित यादवले भने,‘हरियो तरकारीका पात खाएका छन् ।’

कपिलवस्तु कृषि ज्ञान केन्द्रले सलहले कति क्षति गर्‍यो भन्ने विवरण प्राप्त नभएको जनाएको छ । रुपन्देहीमा देखिएका भन्दा कैयौँ गुणा धेरै सलह कपिलवस्तुमा रहेको स्थानीयले बताएका छन् । कपिलवस्तुका सबै पालिकामा सलह उडेका र बसेका छन् । प्राय ठूला रुखहरुमा बसेका छन् । वाणगंगा नगरपालिकाका कृषि शाखा प्रमुख लेषबहादुर केसीले लाखौंको संख्यामा आएको सलह झुण्ड झुण्डमा बाडिएकाले डराउनुपर्ने नदेखिएको बताउँदै सतर्क रहन भने आग्रह गरेका छन् ।

रुपन्देहीका सैनामैना वडा नम्बर ६ मा मकै, तरकारी र धैचा खाएको किसान युवराज विश्वकर्माले बताए । ‘धानमा मल होला भनेर धेचा छरेका थियौं, अहिले ठेटा मात्रै बनाएर छाडेको छ’, उनले भने,‘तरकारी र मकैका पाससमेत खाएका छन् ।’ सहल आएपछि किसानले भाँडा ठटाउने र आगो लगाएर धुवार्ने गरिरहेको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयले विषादी छर्किन र मारेर जम्मा पार्नसमेत किसानलाई आग्रह गरेको छ ।

कृषि विकास निर्देशनालयका निर्देशक देवकोटाले रुपन्देहीको देवदह र सैनामैनामा सलह बसे पनि त्यति धेरै क्षति नपुर्‍याएको बताए । अर्घाखाचीको शितगंगाको वडा नम्बर १ सुवर्णखाल र वडा नम्बर १० सिद्धारामा बाक्लो रुपमा सलह देखिएको छ । मकैबारीमा सलह बसेपछि किसानले थाल ठटाउने, आगो बाल्ने गरेर धपाइरहेका छन् । यो क्षेत्र कपिलवस्तुसँग जोडिएको छ । अर्घाखाचीका अन्य स्थानमा भने सामान्य मात्रामा फट्यांग्रा देखिएको बताइएको छ । दाङका केही क्षेत्रमा मात्रै सामान्य रुपमा सलह देखिएको भन्दै किसानले ज्ञान केन्द्रमा खबर गरेका छन् ।

Related Articles

Back to top button
Close