News

पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

भक्तपुर : पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरको मध्यपुर थिमि नगरपालिका १ मनहरामा बन्दै गरेको घरमा बम विस्फोट गराउने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले उक्त विस्फोटका मुख्य योजनाकार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भक्तपुर जिल्लाका सेक्रेटरी विजय भनिने ऐनबहादुर शाहीलाई पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बम विस्फोटपछि फरार रहँदै आएका शाहीलाई विशेष सूचनाको आधारमा असार १५ गते ललितपुरबाट पक्राउ गरिएको जानकारी दिए । उक्त बम विस्फोटमा संलग्न भएको आरोपमा भक्तपुर प्रहरीले यसअघि नै चारजनालाई पक्रा गरिसकेको छ ।
गएको फागुन २८ गते बिहान ७:५६ बजे पूर्वमन्त्री बाँस्कोटाको निर्माणाधिन साढे तीन तले घरको दक्षिण पूर्वी वाल कम्पाउण्डमा बम विस्फोट गराइएको थियो ।
पूर्वमन्त्री बाँस्कोटाको घरमा रिमोट कन्ट्रोलमार्फत कुकर बम विस्फोट गराइएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले अभिषेक भन्ने कबहादुर बीक, अमृतबहादुर कुमाल, लक्ष्मण सेठी र देवीबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो । उनीमाथि अनुसन्धानपश्चात जिल्ला अदालत भक्तपुरले गएको चैत ३० गते देवीबहादुरलाई साधारण तारेखमा छोडेको थियो । बाँकी ३ जनालाई पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

सोही घटनामा फरार रहेका मुख्य योजनाकार ऐनबहादुर शाहीलाई घटना भएको करिब तीन महिनापछि सोमबार प्रहरीले पक्राउ गरेको हो । उनलाई मंगलबार जिल्ला अदालत भक्तपुरमा पेस गरिएको थियो । अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको भक्तपुर प्रहरीले जनाएको छ ।

विस्फोटको क्रममा घटनानजिकै प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चासमेत बरामद गरेको छ । जसमा ‘भ्रष्टाचारी गोकुल बाँस्कोटामाथि कारबाही किन ?’ भन्ने शीर्षकमा १० वटा कारण उल्लेख गरिएको छ । प्रहरीले उक्त पर्चाको आधारमा पूर्वमन्त्री बाँस्कोटाको घरमा विप्लव नेतृत्वको नेकपाले बम विस्फोट गराएको हुनसक्ने दावी गरेको थियो । तर नेकपाले अहिलेसम्म आधिकारिक रुपमा उक्त बम विस्फोटको जिम्मेवारी लिएको छैन ।

Related Articles

Back to top button
Close