News

पत्रकारको पेशागत सुरक्षाको माग गर्दै महासंघ आन्दोलनमा

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) माहामारीको कारण पत्रकारको पेशागत सुरक्षा खतरामा परेको भन्दै पत्रकार महासंघले आन्दोलन सुरु गरेको छ। माइतीघर मण्डलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले हालको अवस्थामा पत्रकारलाई पेशागत संकट परेको बताए।

उनले  कोरोनाको कारण देखाउँदै मिडियाका मालिकले पत्रकारिता गरेर बाच्न पाउने पत्रकारको अधिकार खोसिएको बताए। ‘पत्रकारलाई जागिरबाट निष्काशन गर्ने, बेतलबी बिदामा राख्ने देखिएको छ’, आचार्यले भने, ‘समस्या समाधानका लागि महासंघ भोलिदेखि नै त्यस्ता सञ्चार गृहमा पुगेर अनुगमन गरेर पत्रकारको अधिकार पुनःस्थापित गर्न आन्दोलन गर्नेछ।’

यस्तै महासंघका महासचिव रमेश विष्टले पत्रकारको श्रम शोषण गर्ने सञ्चारगृह बन्द हुँदैमा जनता सूचनाको हकबाट बञ्चित नहुने बताए। उनले पत्रकारको हितका लागि सबै पक्षलाई जानकारी गरेर मात्रै आन्दोलनमा आएको भन्दै सहज ढंगबाट पत्रकारको अधिकार स्थापित नभए महासंघ हेरेर नबस्ने उनको भनाइ छ।

महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारका कारण करोडपति बनेका मिडियाका मालिकले पत्रकारको पेटमा लात हानेको भन्दै त्यो मान्य नहुने बताए। प्रेस संगठनका संयोजक महेश्वर दाहालले पत्रकारले हिजको दिनमा देशको स्वतन्त्रताका लागि लडेकोभन्दै आज कोरोनाको बाहानमा पत्रकारको पसिनाको परिश्रम नदिने मिडियाका मालिकलाई कुनैपनि वाहानामा नछोड्ने धारणा व्यक्त गरे।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिंग्देलले कारोनाको बाहानमा पत्रकारलाई मिडियाका मालिकले सडकमा ल्याएको भन्दै पत्रकारको हकहितका लागि सञ्चारगृहमा मात्र नभएर मिडियाका मालिकको घरमै गएर आन्दोलन गर्ने चेतावनी दिए।

सञ्चारीका समूहकी अध्यक्ष नितु पण्डितले जनतालाई सु–सूचितगर्ने कार्यमा जस्तोसुकै अवस्थामा खटिएका पत्रकारलाई कोरोनाको बहानामा पेशाबाटै बञ्चित गरिनु अत्यन्तै दुखद भएको भन्दै पत्रकारले श्रमको उचित मूल्य पाउनुपर्ने बताए।

कार्यक्रममा बोल्ने सबैले पत्रकारको पक्षमा लड्न प्रतिवद्धता जनाएका छन्। कार्यक्रममा प्रेस नेपालका अध्यक्ष केशव अर्याल, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडी, क्रान्तिकारी संगठन नेपालका प्रतिनिधि धनन्जय बुढा, प्रगतिशिल पत्रकार संघका पूर्वअध्यक्ष नारायण शर्मा, कान्तिपुर संयुक्त ट्रेड यूनियनका प्रतिनिधि अर्जुन पाठक, जनपत्रकार संगठनकी सचिव सृजना तिम्सिनाले मिडिया मालिकले पत्रकारलाई प्रयोग गर्दै फाइदा उठाउने र संकटमा पत्रकारमाथि अन्याय भएको भन्दै कडा आन्दोलनको आवश्यकता औंल्याए।

Related Articles

Back to top button
Close