Entertainment

क्यानाडाको आकाशमा नेपाली चेली पाइलट

बेनुप भट्टराई, टोरोन्टो हिजो उनी टेक्सस् थिइन्, आज टोरन्टो। भोलि र पर्सी छुट्टी, घरै बस्छिन् । शुक्रबार टोरन्टो बाट शिकागो लाग्छिन्, फर्केर फेरि न्युयोर्क। शनिवार टोरन्टो देखि अटोवा, भोलि पल्ट फेरि अटोवाबाट बोस्टन पुग्छिन् । महिनामा १६ दिन बाहिर, १४ दिन मात्रै घर। त्यसमा सयौं घण्टा त उडेको उ्डयै आकाशमै। हिउँ परोस् या पानी, तालिका उही। घाम लागोस् या बादल, जिम्मेवारी उही।

यो एक ३२ बर्षीया नेपालीमूलकी युवतीको व्यस्त दिनचर्या हो, जो क्यानडाको टोरन्टो स्थित पिअर्सन एअरपोर्टलाई आधार बनाएर उत्तर अमेरिकी शहर पुग्न आकाशलाई यसैगरी फन्को मार्छिन् । हवाई जहाजमा यसरी घुम्ने उनी व्यस्त सेलिब्रिटी या ब्यापारी होइनन्, तीन ‘क्र्यू मेम्बर’सहित ९७ यात्रुको अगुवा भई आफैं जहाज उडाउने हँसिली ‘क्याप्टेन’ हुन्, त्यो पनि नेपालीमूलकी।’

जन्मस्थान: पोखरा, कास्की। शिक्षा: फ्लाइट् डिग्री।रुचि: हवाई उड्डयन। हालको बसाई: टोरन्टो, क्यानडा। नोकरी: एअर क्यानडा।र, नाम: कामना सुबेदी।पद चाहिँ: क्याप्टेन । इन्जिनियरिङ पेशामा रहेका बुवा ध्रुब र आमा कल्पना सुवेदीको कोखबाट जन्मिएकी कामना उड्डयन क्षेत्रमा लागेको झण्डै एक दशक भयो। तर, क्यानडाको राष्ट्रिय ध्वजाबाहक विमान एअर क्यानडामा क्याप्टेनको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै उत्तर अमेरिकी शहरमा उडान भर्न थालेको चाहिँ लगभग दुई बर्ष मात्रै।

सुबेदी परिवारमा कान्छी छोरीका रुपमा जन्मिएकी हुन् कामना। उनकी दिदी सञ्जिना अमेरिका छिन्। न्युयोर्कस्थित विंङ्हम्टन युनिभर्सिटीमा प्रोफेसर। भाइ कुसल चाहिँ बुवा आमासँग क्यानडामै। पोखरामा जन्मिएर १० कक्षासम्म त्यहींको विन्द्येश्वर बोर्डिङ स्कुल पढेकी कामना अहिले ‘एअर क्यानडा’को ‘एम्ब्राएर १९०’ जहाजकी क्याप्टेन हुन्। यो ब्राजिलियन विमानलाई उनले सन् २०१७ देखि उडाइरहेकी छन्। देश विदेशका दुई सय २२ गन्तव्यमा उडान भर्ने एअर क्यानडामा चार हजार जति पाइलट छन्।

तर,यो सफलता र जिम्मेवारी एकैपल्ट मिलेको होइन, बर्षौंको अध्ययन, अथक मेहनत र कहिले नडगमगाउने आत्मविश्वासले आर्जन भएको हो। कामनाको ‘पाइलट बन्ने’ रहर बुझ्न पोखरा फर्कौं।यो उनी ४/५ बर्षकी छँदाको कुरा हो।नर्सरी कक्षामा दोस्रो हुँदा बुवा ले घरमा सानो ‘पार्टी’ गरेको रहेछ।छतमा बसेर खानेकुरा खाँदै गर्दा पोखराबाट जोमसोमतर्फ जाँदै गरेको हवाईजहाज नजिकैबाट उडेछ।

‘बुवा, यो कसले उडाउँछ ?’ कामनाको प्रश्न।‘यो पाइलटले उडाउँछ’ बुवाको उत्तर । त्यसपछि कामनामा छतमा निस्किँदै दिनका दिन ‘पाइलट हुने’ बालहठ पलाएछ।त्यो कुरा कामनाले सम्झेकी छन् या छैनन्, बुवा ध्रुबले भने ‘छोरीको सफलता पछि बच्चैदेखि लुकेको हुटहुटी’का रुपमा त्यसलाई सम्झिरहेका छन्। त्यस्तै, कामनाले हजुरबुवा रुद्रनाथसँग ‘पाइलट हुने’ जिद्दी कसेको प्रसंग पनि रोचक रहेछ।

पोखराबाट काठमाडौं जाँदा हो या काठमाडौंबाट पोखरा, ४/५ बर्षकी उनी हजुरबुवाको काखमा थिइन्।त्यसबेलाका हवाईजहाजमा ककपिट खुल्लै हुने। पछाडिका यात्रुले पाइलटलाई सजिलै देख्नसक्ने । त्यसैको फाइदा लिँदै नातिनी र हजुरबुवा वीच संवाद भएछ,‘ती अगाडिका मान्छे को हुन् ? कामनाको प्रश्न ।‘ती जहाज उडाउने पाइलट हुन्’ हजुरबुवाको जवाफ। हजुरबुवासँग हवाइयात्रा गरेको त्यही दिनदेखि ‘पाइलटै भएर छोड्छु’ भन्ने जिद्दी गरेकी उनले त्यो बालहठ कहिल्यै छोडिनन्।

चाहे परिवारमा कोही हवाई क्षेत्रमा लागेको र जानकारै किन नहोस्, चाहे त्यस बेला नेपालमा सजिलै पाइलट हुनसक्ने अवस्था किन रहोस् । ‘मेरो जिन्दगीमा पाइलट हुनेबाहेक कुनै बिकल्प नै थिएन, त्यो जसरी पनि भएरै छोड्नुथ्यो’ सन् २००२ मा परिवार सहित क्यानडा आएकी कामनाले सुनाइन्, ‘जसका निम्ति परिवारको फुल्ली सपोर्ट त भयो नै, आफूले गर्ने मेहनत र परिश्रममा पनि कुनै अल्छी गरिनँ।’

एसएलसीको तयारी चल्दै गर्दा क्यानडा आएपछि कामनाले ग्रेड ९ बाट मिसिसागाको एउटा स्कुलमा पढाइ सुरु गरिन्।त्यहाँबाट १२ छिचोलेपछि उनी सेनेका कलेज भर्ना भइन्– ४बर्षे फ्लाइट डिग्री कोर्समा।लक्ष्य निश्चित थियो– पाइलट हुने।घर सल्लाह गरेपछि कलेज छान्न समय लागेन। ‘ब्राम्प्टनको घरबाट बसमा डेढ घण्टा जान, डेढ घण्टा आउन लाग्थ्यो, हिउँ पर्दा होस् या झरी-पानी बर्सिदा प्रायः क्लास बंक गरिनँ’

कामनाले अनुभव सुनाइन्, ‘भाग्नुथ्यो भने मलाई पनि कति हो कति बहाना थिए,तर मैले पाइलटै हुनुथ्यो जो भागेर सम्भव थिएन, संघर्ष नै गर्नुपर्थ्यो।’ दुई बर्षपछि उनको वायोडाटामा एक हजार घण्टा उडान अनुभव थपियो।आफूले पढ्दा र विद्यार्थीलाई सिकाउँदा उनले त्यति समय आकाशमा बिताएकी थिइन्।त्यसै आधारमा उनी सन् २०११ म ‘कार्गोजेट’ कम्पनीमा सेकेण्ड अफिसर भइन्।

त्यसक्रममा बोइङ ७२७ मा उनी रात रातभर उडेर क्यानडा र अमेरिकाका विभिन्न शहर पुग्थिन् । एक बर्षपछि त्यही विमानमा फस्ट अफिसर अर्थात् को–पाइलट भएर उडान भर्थिन् । सामान ढुवानी गर्ने हवाई जहाज भएकाले त्यो राती राती उडाउनु पर्थ्यो । उनी रोकिनेवाला थिइनन्, जो अनुभवलाई आधार बनाउँदै अझ माथि पुग्न आतुर थिइन्।सन् २०१३ देखि १६ सम्म उनले स्काई रिजनल एअरलाइन्समा काम गरिन्।

त्यसपछि एअर क्यानडा एक्सप्रेसमा।सबैतिरको उडान अनुभव २५ सय घण्टा पुगेपछि उनी दुई बर्षदेखि एअर क्यानडामा ‘क्याप्टेन’को जिम्मे वारीमा पुगेकी हुन्। ‘लक्ष्य त अझ ठूलो जहाज लामो दूरीमा उडाउने नै हो, अहिले पाएको जिम्मेवारी पनि ठूलो र चुनौती पूर्ण हो’ जसजति सबै स्टाफमा बाँडिने तर केही छिरिक्क भए अपजसजति आफ्नोमा आइपर्ने क्याप्टेन–कर्मबारे उनले भनिन्, ‘लामो दूरीमा उडान भर्न यी सबै अनुभव आवश्यक छन्, त्यसै अन्तिम लक्ष्यमा पुगिन्न।’

कामनाले मुहारमा खुसी ल्याउँदै भनिन्, ‘ती फोटा देख्दा सबैभन्दा खुसी हजुरबुवा नै होइसिन्छ ।’ घर बसेका बेला यी कास्कीकी छोरी, क्यानडाकी क्याप्टेन नेपाली परिकार बनाउन रुचाउँछिन्।उनले बनाउने मःम हुनेवाला पति सेथले एकपल्टमै २० वटासम्म खाइ दिन्छन् रे।अनि, स्कटल्याण्डबाट सन् १९९७ मा क्यानडा आएका सेथको नेपाली परिकारप्रतिको रुचि र नेपाल प्रेम सुनाउँदै कामनाले एउटा चाहना राखिन्, ‘क्यानडाबाट एक न एक दिन आफैं विमान उडाएर काठमाडौं पुग्ने धोको छ।’ त्यो धोको छिट्टै पूरा होस्, कामनालाई शुभकामना।

Related Articles

Back to top button
Close