News

आठ जिल्लामा बाढी पहिरो, २३ को मृत्यु, २६ बेपत्ता

२६ असार, काठमाडौं । शुक्रबार साँझ ७ बजेसम्म मुलुकका ८ जिल्लामा गएको बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु भएको छ । ३६ जना बेपत्ता छन् भने २६ जना घाइते भएका छन् ।

राष्ट्रिय आपत कार्य सञ्चालन केन्द्रले अनलाइनखबरलाई उपलब्ध गराएको विवरणअनुसार शुक्रबार बाढी, पहिरोमा परेर ग्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, तनहुँ, जाजरकोट, दोलखा र गुल्मी गरी ८ जिल्ला प्रभावित भएका छन् । तीमध्ये ६ जिल्लामा मानवीय क्षति भएको छ । बुधबार राति सिन्धुपाल्चोक जिल्लामा धनजनको क्षती भएको थियो ।

प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा बेपत्ताको खोजी कार्य जारी छ । कतिपय स्थानमा सडक अवरुद्ध हुनुका साथै वर्षा पनि जारी रहेकाले उद्धारमा कठिनाइ भएको केन्द्रको भनाइ छ ।

कतिपय स्थानमा हेलिकप्टरबाट पनि उद्धारको प्रयास गरिएको छ । तर, मौसमका कारण समस्या भइरहेको छ ।

कास्की र जाजरकोट सबैभन्दा बढी मानवीय क्षति

अनलाइनखबरका जिल्ला संवाददाताहरुका अनुसार शुक्रबार सबैभन्दा बढी मानवीय क्षति कास्की र जाजरकोटमा भएको छ । दुवै जिल्लामा ७÷७ जनाको मृत्यु भएको छ ।

पोखरा–१८, सराङ्कोटको गोठादीका टंकबहादुर थापा र पोखरा–२६ का दुर्गाबहादुर सुनारको घर पहिरोमा परेर बगाउँदा ८ जनाको मृत्यु भएको छ । घाइतेको संख्या ११ छ ।

थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाति र छिमेकी इशिका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए । पोखरा–२५, हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनकी आमा हिमकला अधिकारीको ज्यान गएको छ ।

जाजरकोटमा पहिरोले दुई घर बगाउँदा ७ जनाको मृत्यु भएको छ । ५ जना अझै बेपत्ता छन् ।

जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार पहिरोले घर बगाउँदा बेपत्ता भएका बारेकोट गाउँपालिका–४, सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की, उनका ११ वर्षीया छोरा अर्जुन सार्की, कलु सार्कीको घरमा पाहुना आएका कुशे गाउँपालिका–९ का २० वर्षीय डिल्ली सार्की र १९ वर्षीय वीरेन्द्र सार्कीको पनि मृत्यु भएको हो । अन्य तीन जनाको सनाखत भइसकेको छैन ।

बेपत्ता अन्यको खोजी भइरहेको श्रेष्ठले अनलाइनखबरलाई बताए ।

म्याग्दीमा ३ जनाको मृत्यु, उद्धारमा कठिनाइ

म्याग्दीमा बाढी र पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।

म्यादीको धौलागिरि गाउँपालिका–७, ताकममा २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको म्याग्दीका प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरले जानकारी दिए । ३१ जना अझै बेपत्ता छन् ।

रघुगंगा गाउँपालिका–६ मा गोठ जान हिँडेका ३४ वर्षका ललितमान छन्त्याल लापुखोला तर्ने क्रममा चिप्लिएर बेपत्ता भएका थिए । उनको शव भेटिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

धौलागिरि गाउँपालिका–६ मराङमा २१, मालिका गाउँपालिका–७ बिममा विष्णु शर्मा र इच्छा पौडेलसहित ९ जना बेपत्ता छन् । मालिकाकै वडा नं ६ दुखुमा खोलाले बगाएर एक जना बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।

पहिरो प्रभावित क्षेत्रमा उद्धार टोली पुगेको प्रजिअ ढकालले जानकारी दिए । ‘रघुगंगामा पुलै बगाएको छ । पहिरो छिचोल्दै जान पनि कठिन भइरहेको छ’, उनले भने । उद्धार टोली पुर्‍याउन गृह मन्त्रालयबाट हेलिकप्टर माग गरिएको थियो । तर, मौसमका कारण बीचबाटै तीन पटक होलिकप्टर फर्किएको छ ।

प्रहरीका अनुसार रघुगंगा गाउँपालिकामा रघुगंगा खोलाले पुल बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लासम्मको यातायात सम्पर्क बन्द भएको छ ।

Related Articles

Back to top button
Close