Video

दिनेश सुनारले गत माघमा चौथोपटक गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाए

दिनेश सुनारले गत माघमा चौथोपटक गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाए। उनले ट्राम्पोलिन (उफ्रिन मिल्ने लचकदार रबरको सामग्री) मा ‘ब्याक समरसल्ट’ (उल्टी जम्प) हानेर कीर्तिमान राखेका हुन्।

दिनेशले आफ्नो तयारीमा ३६० पटकको लक्ष्य राखेका थिए। अमेरिका पुगेर अझै राम्रो गरे। एक घन्टामा ४६० पटक ट्राम्पोलिनमा ब्याक समरसल्ट गरेर यो विधाको रेकर्ड राख्न उनी सफल भए।

‘यसनिम्ति मैले महिनौं अभ्यास गरेँ,’ उनले सेतोपाटीसँग भने, ‘अभ्यास क्रममा ३६० पटकको लक्ष्य थियो। सोचेभन्दा राम्रो भयो।’

गिनिज वर्ल्ड रेकर्ड्समा दिनेशले यसअघि तीनवटा विधामा आफ्नो नाम दर्ज गराइसकेका छन्।

पहिलो, ‘मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स अफ द वाल इन वान मिनेट’। अर्थात्, एक मिनेटमा पर्खालका आडमा सबभन्दा धेरैपटक घुमाउरो तरिकामा उल्टोबाट उफ्रिने। यसमा उनी १८ पटक उफ्रेका थिए।

दोस्रो, ‘मस्ट ब्याकवर्ड समरसल्ट वाल इन थर्टी सेकेन्डस्’। अर्थात्, ३० सेकेन्डमा पर्खालका आडमा सबभन्दा धेरै उल्टी हान्ने। यसमा उनले १६ पटक समरसल्ट गरेका थिए।

तेस्रो रेकर्ड हो, ‘द मस्ट ब्याकफ्लिप ३६० वाल इन थर्टी सेकेन्डस्’। उनले ३० सेकेन्डमा १२ पटक पर्खालमा उल्टोबाट उफ्रिएका थिए।

 

दिनेश कहिले बालुवाको थुप्रो त कहिले माटोको ढिस्कोमा ज्यानलाई हावामा मर्काएर उल्टी र सुल्टी जम्प हान्छन्। कहिले घरका छतछत दौडिँदै फड्किन्छन्। पर्खालहरू फुत्तफुत्त नाघ्छन्। खोला, भिर र पाखाबाट हाम्फाल्छन्।

सामान्य भाषामा यस्ता गतिविधिलाई ‘पार्कर’ खेल भनिन्छ। तर यो एकदमै जोखिमपूर्ण हुन्छ। यसनिम्ति लामो अभ्यास र हुटहुटी चाहिने दिनेश बताउँछन्।

‘म केटाकेटी बेलादेखि नै चकचके थिएँ। जोखिम लिन रुचाउँथेँ,’ उनले भने, ‘मेरो स्वभावका कारण आमाबुवाले निकै हैरानी खेप्नुभयो। मैले यही जोखिम लिने स्वभाव उपयोग गरेर गिनिज बुकमा नाम लेखाएँ।’


 

 

 

Related Articles

Back to top button
Close